जनता टाइम्स

१७ माघ २०८२, शनिबार २२:०३

अबका प्राथमिकता रोजगारी प्रवर्द्धन र मानवीय विकास : विष्णु पाैडेल 


बुटवल, माघ १७ । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भौतिक पूर्वाधार निर्माणसँगै अब मानवीय विकास र रोजगारी प्रवर्द्धनलाई आफूले पहिलो प्राथमिकता बनाउने बताउनुभएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्नुभएका उपाध्यक्ष पौडेलले जिल्लामा निर्माणाधीन ठूला पूर्वाधार योजनाहरू सम्पन्न गर्दै औद्योगिक विकासलाई तीव्रता दिने र स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूलाई लगानीका लागि आकर्षित गरी व्यापक रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेकपा (एमाले) को बुटवल–११ देवीनगर तथा बुटवल–१ पारीबुटवलमा वडास्तरीय निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उहाँले रुपन्देही भौतिक पूर्वाधारको दृष्टिले सम्पन्नताको चरणमा पुगेको उल्लेख गर्नुभयो। “रुपन्देहीमा भौतिक पूर्वाधार र संरचनाको विकास अब पर्याप्त स्तरमा पुगेको छ,” उहाँले भन्नुभयो, “अब यसले मात्रै पुग्दैन, यहाँका नागरिकको आयस्तर वृद्धि गर्ने, रोजगारी र स्वरोजगार सिर्जना गर्ने योजनामा मेरो मुख्य ध्यान केन्द्रित हुनेछ।”

उपाध्यक्ष पौडेलले पछिल्लो समय उठिरहेको ‘जेनजी आन्दोलन’को प्रमुख माग नै रोजगारी रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम अघि बढाइने बताउनुभयो। उहाँले रुपन्देहीका जनताले विश्वस्तरीय जीवनशैलीमा बाँच्न पाउनुपर्नेमा जोड दिँदै जिल्लाका ठूला र महत्वपूर्ण विकास योजनाहरू सम्पन्न गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले बुटवलमा निर्माणाधीन मुलुककै ठूलो १२ तले लुम्बिनी प्रादेशिक अस्पताललाई समयमै सम्पन्न गर्ने, बुटवलदेखि पोखरासम्मको सडकलाई दुई घण्टामै यात्रा गर्न मिल्ने गरी विस्तार गर्ने तथा बुटवल–गोरुसिङ्गे र बुटवल–नारायणगढ सडक विस्तारको काम पूरा गर्ने योजना उल्लेख गर्नुभयो।

त्यसैगरी तिनाउ पुलमा ‘सिग्नेचर ब्रिज’ निर्माण गरी त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, मेडिकल कलेज स्थापना लगायतका ठूला परियोजनामा आफूले खेलेको भूमिकाबारे मतदाताहरू जानकार रहेको उहाँको भनाइ थियो।

उपाध्यक्ष पौडेलले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा चलायमान बनाउने, बुटवलमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र सञ्चालनमा ल्याउने तथा औद्योगिक क्षेत्र विकासमार्फत रोजगारी सिर्जना गर्न विशेष ध्यान दिइने बताउनुभयो।

आगामी दिनमा पनि जनताको निरन्तर साथ र विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको उपाध्यक्ष पौडेलले उल्लेख गर्नुभयो।