काठमाडौं, माघ १८ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र साह (बालेन) को चुनावी प्रचार अभियानमा संलग्न पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।
अस्पतालका अनुसार उहाँको एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेज) का कारण मृत्यु भएको हो । प्रचारका क्रममा अछाम पुगेका बेला सिटौला अचानक बेहोस भएर ढलेपछि तत्काल उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
शुक्रबार काठमाडौं ल्याइएका उहाँलाई ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । चिकित्सकले परिवारलाई समेत भेट गर्न नदिइ उपचारलाई निरन्तरता दिएका थिए । तर, आज दिउँसो १२ः४५ बजे उहाँलाई मृत घोषणा गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले सिटौलाको निधनलाई अत्यन्त दुखद घटना भन्दै शोक व्यक्त गरेको छ ।
४३ वर्षीय सिटौला अविवाहित हुनुहुन्थ्यो । उहाँका पिता, एक दिदी र दुई दाजुभाइ रहेका छन् । सिटौला चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्