जनता टाइम्स

१८ माघ २०८२, आईतवार २०:२२

जमिनमा टेकेका दलहरूले नै देश थाम्ने हो, हल्लाकाे भरमा आएका दल स्थायी हुँदैनन् : योगेश भट्टराई


चितवन, माघ १८ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केवल हल्ला र पपुलिजमका आधारमा बनेका राजनीतिक दलहरू दीर्घकालीन रूपमा टिक्न नसक्ने बताउनुभएको छ ।

प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ता दलहरूले राष्ट्रको बलियो प्रतिनिधित्व गर्न नसक्ने उल्लेख गर्नुभयो । राजनीतिक दलकाे स्पष्ट विचार र सिद्धान्त हुन आवश्यक रहेकाे उहाँले बताउनुभयाे । उपमहासचिव भट्टराईले भन्नुभयो, “दुनियाका जुनसुकै मुलुकमा पनि विचार र सिद्धान्तमा आधारित, जमिनमा टेकेका दलहरूले नै देश थाम्ने हो, कुनै खास एजेन्डा नभएका र हुईयाँमा बनेका दलहरू स्थायी हुँदैनन् ।”

राजनीतिक दल राष्ट्रका खम्बा भएको उल्लेख गर्दै उहाँले ती खम्बा कमजोर हुन नहुने बताउनुभयो । अहिले नेपालमा पपुलिजमको आधारमा नक्कली पार्टी खडा गर्ने प्रवृत्ति बढेको उहाँको भनाइ छ । भट्टराईले राजनीतिक दल र नेतृत्व जनतासँग प्रत्यक्ष संवाद गर्न सक्ने हुनुपर्नेमा जोड दिनुभयो । जनताले देख्न, छुन, प्रश्न गर्न र आलोचना गर्न सक्ने नेतृत्व नै लोकतन्त्रको आधार भएको उहाँले बताउनुभयो । “जनताले नदेखेको, छुन पनि नपाएको, प्रश्न गर्न नसक्ने नेतृत्व आउँदैछ,” उहाँले भन्नुभयो, “नेतृत्व जनतासँग बोल्दैन, नागरिकसँग संवाद गर्दैन भने ती दलहरूले के गर्छन् ?”

राष्ट्रको भविष्यसँग जोडिएको विषय भएकाले आवेग वा उत्तेजनामा नभई ठण्डा दिमागले सोचेर मतदान गर्न उहाँले आम नागरिकलाई अपिल गर्नुभयो । “आगामी ५०–१०० वर्ष देश कसरी अगाडि जान सक्छ भन्ने सोचेर विश्वासिलो नेतृत्व चयन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

भट्टराईले अहिले मुलुक कमजोर बनाइएको भन्दै प्रहरी प्रशासनको मनोबल गिराइएको र अदालतको आत्मबल कमजोर बनाइएको दाबी गर्नुभयो । एमाले जस्तो पार्टी बलियो र पहिलो नबने राज्यका अंगहरूको आत्मविश्वास नबढ्ने उहाँको भनाइ छ । “राज्यका अंग र आम नागरिकको सुरक्षा एमाले नेतृत्वमा बन्ने सरकारले मात्रै गर्न सक्छ,” उहाँले भन्नुभयो ।

कतिपयले एमालेभित्र आन्तरिक विवाद रहेको भ्रम फैलाएको उल्लेख गर्दै उहाँले उम्मेदवारी दर्तापछि पार्टी एकढिक्का भएको दाबी गर्नुभयो । “१ सय ६३ जना उम्मेदवार सबै साझा हुन्, एमालेको मिसन ‘फागुन २१, सूर्य चिन्ह, नेकपा एमाले’ हो,” उहाँले भन्नुभयो ।

उपमहासचिव भट्टराईले एमालेले समानुपातिकतर्फ अघिल्लो निर्वाचनभन्दा मत बढाएर ४० लाख पुर्‍याउने लक्ष्य लिएको जानकारी दिनुभयो । प्रत्यक्षतर्फ पनि उल्लेख्य सिट संख्या वृद्धि गर्दै एकल बहुमतसहित सरकार बनाएर विकृति र विसंगति अन्त्य गर्ने एमालेको योजना रहेको उहाँले बताउनुभयो । “यसरी मात्रै मुलुक सबल र सुदृढ बन्न सक्छ,” उहाँले निष्कर्ष निकाल्नुभयो ।