धनगढी, माघ १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिममा सञ्चालनमा रहेका महत्वपूर्ण विकास आयोजनालाई पूर्णता दिनका लागि आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।
कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका उपमहासचिव भट्टले आइतबार अत्तरियामा क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालयको उद्घाटनपछि पत्रकारसँग कुराकानी गर्दै सुदूरपश्चिमको ‘लाइफलाइन’ का रूपमा रहेका ठूला आयोजनाहरूलाई अघि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले दैजी–छेला औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–खुटिया–दिपायल–उरै भञ्याङ सडक तथा लालपुर–हरैया विशेष आर्थिक क्षेत्र निर्माणजस्ता आयोजना अझै सुस्त गतिमा अघि बढिरहेको बताउनुभयो ।
उपमहासचिव भट्टले आफू प्रतिनिधिसभा सदस्य निर्वाचित भएर मन्त्री हुँदा पहल गरेका यी आयोजना समयमै सम्पन्न हुन नसकेको भन्दै तिनलाई पूर्णता दिन फेरि उम्मेदवारी आवश्यक भएको स्पष्ट पार्नुभयो । उहाँले सुदूरपश्चिमको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि उत्तर–दक्षिण जोड्ने सडक सञ्जाल विस्तार अपरिहार्य रहेको बताउनुभयो । उत्तरमा उत्पादित वस्तु दक्षिण पुर्याउने र दक्षिणका वस्तु उत्तर लैजान सकिने अवस्था बनेपछि मात्रै सुदूरपश्चिमको समग्र विकास सम्भव हुने उहाँको भनाइ छ ।
उपमहासचिव भट्टले यो पहल कैलाली क्षेत्रका लागि मात्र नभई समग्र सुदूरपश्चिम र राष्ट्रकै हितका लागि भएको उल्लेख गर्नुभयो । उहाँले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले पार्टी संरचना एकमतका साथ मैदानमा उत्रिने बताउनुभयो । पार्टीको संगठन तल्लो तहसम्म बलियो रहेको र कुनै मतभेद नभएकाले निर्वाचन परिणाम एमालेको पक्षमा आउने उहाँको दाबी छ ।
उपमहासचिव भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेले १२ सिट जित्ने लक्ष्य लिएको जानकारी दिनुभयो । रणनीतिक रूपमा प्रचार–प्रसार अघि बढाइएको उहाँले बताउनुभयो ।
अत्तरियामा आयोजित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिशङ्कर योगी, केन्द्रीय सदस्य सन्तोष शर्मा, नवनिर्वाचित राष्ट्रियसभा सदस्य लीला भण्डारी, प्रदेशसभा सदस्य धर्मराज पाठक, एमाले प्रदेश कमिटी उपसचिव भागरथी विष्ट लगायत हजारौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
सम्पर्क कार्यालय स्थापना भएसँगै संगठन विस्तार, मतदाता समन्वय तथा प्रचार–प्रसारलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने एमालेले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्