जनता टाइम्स

१८ माघ २०८२, आईतवार २१:१०

फागुन २१ को निर्वाचन देशभक्त र देशद्रोहीबीचको संघर्ष : रामबहादुर थापा बादल


काठमाडौं, माघ १८ । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन देशको अस्तित्व, अस्मिता र स्वाधीनता रक्षाका दृष्टिले अत्यन्त महत्वपूर्ण भएको बताउनुभएको छ ।

यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई देशभक्त र देशद्रोही शक्तिहरूबीचको संघर्ष भएको उहाँको भनाइ छ । प्रवासी नेपाली संघ, भारतको केन्द्रीय समितिको सातौँ बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय च्यासलबाट भर्चुअल सम्बोधन गर्दै उपाध्यक्ष बादलले आगामी निर्वाचनलाई देश जलाउने र देश बनाउने शक्तिहरूबीचको भीषण संघर्षका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।

उहाँले नेकपा (एमाले) देश निर्माण गर्ने देशभक्त पार्टी भएको उल्लेख गर्दै यो निर्वाचनमा एमालेको विजय अपरिहार्य रहेको धारणा राख्नुभयो । उपाध्यक्ष बादलले आगामी निर्वाचनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा लोकतान्त्रिक सरकारको पुनर्स्थापना गर्ने एमालेको लक्ष्य रहेको जानकारी गराउनुभयो । साथै बाह्य हस्तक्षेपविरुद्धको प्रतिरोध सफल बनाउन प्रवासमा रहेका नेपालीहरूको भूमिका महत्वपूर्ण हुने उहाँले जोड दिनुभयो ।

उहाँले नेपाललाई ‘युक्रेन’ बनाउने योजना अन्तर्गत भदौ २३ र २४ गते विध्वंशात्मक घटना गराइएको दाबी गर्दै त्यसको दोस्रो प्रयास निर्वाचनमार्फत ‘जेलेनेस्की’ जन्माउने रहेको आरोप लगाउनुभयो । त्यसैले देशभक्त लोकतान्त्रिक शक्तिहरूले जित्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

गत भदौको घटनाबाट लोकतन्त्र र राष्ट्रिय स्वाधीनता अपदस्थ गरिएको र नागरिक सरकार विघटन गरी असंवैधानिक कठपुतली सरकार गठन गरिएको स्मरण गराउँदै निर्वाचनमार्फत लोकतन्त्र र राष्ट्रिय स्वाभिमान पुनर्स्थापना गर्नुपर्ने चुनौती रहेको उहाँको भनाइ छ ।

उपाध्यक्ष बादलले मुलुक असाधारण संकटबाट गुज्रिरहेको उल्लेख गर्दै प्रतिक्रान्ति र प्रतिगमनलाई परास्त गर्न एमालेले बहुमतका साथ विजय हासिल गर्नुपर्ने बताउनुभयो । सिंहदरबार जलाउने देशद्रोही शक्तिहरू नेपाललाई ‘युक्रेन’ बनाउन चाहन्छन् भन्दै उहाँले अधिकतम निर्वाचन क्षेत्रमा एमाले विजयी बनाउन प्रवासमा रहेका नेपालीहरूको भूमिका निर्णायक हुने बताउनुभयो ।

भदौ २३ र २४ गतेको घटनालाई सही ढंगले बुझ्न आग्रह गर्दै उहाँले आगामी निर्वाचनलाई देशभक्तहरूले जीवन–मरणको संघर्षका रूपमा लिनुपर्ने धारणा राख्नुभयो । उपाध्यक्ष बादलले एमाले राष्ट्रियता र स्वाधीनताको रक्षा गर्ने तथा देश निर्माण गर्ने पार्टी भएको दाबी गर्दै विगतमा सरकारमा रहँदा गरेका कामहरूले त्यसको पुष्टि गरेको बताउनुभयो ।

उहाँले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन घोषणापत्रको तयारी भइरहेको जानकारी गराउँदै घोषणापत्रमा राष्ट्रियता, लोकतन्त्र, विकास, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा प्रवासी नेपालीका समस्या र अधिकारका विषयहरू समेटिने बताउनुभयो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा भारत प्रवास संयोजक हरिप्रसाद घिमिरेले भारतमा रहेका नेपालीका समस्या लगायत विषयहरू प्रस्तुत गर्नुभएको थियो ।