जनता टाइम्स

१९ माघ २०८२, सोमबार १०:३८

नेपालको सीमावर्ती क्षेत्रमा भारतीय प्रहरीद्वारा नक्कली नोट बनाउने कारखाना सहित १० जना पक्राउ 


काठमाडौं, माघ १९ । नक्कली नेपाली तथा भारतीय रुपैँया नेपाल भित्र्याउने तयारीमा रहेको ठुलो अन्तर्राष्ट्रिय गिरोह भारतमा पक्राउ परेको छ ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत रक्सौल आसपास सक्रिय गिरोहको नक्कली नोट कारोबारमाथि भारतीय सुरक्षा निकायले ठुलो कारबाही गरेको हो । पूर्वी चम्पारण प्रहरी र विशेष कार्यदल (एसटिएफ) को संयुक्त टोलीले सीतामढी जिल्लाको मेजरगञ्ज क्षेत्रमा सञ्चालन भइरहेको नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना फेला पारेर ध्वस्त पारेको छ।

छापामारीका क्रममा करिब २५ लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट, १८ हजार ५ सय नक्कली भारतीय रुपैँया तथा नोट छाप्न प्रयोग हुने हाइटेक मेसिन बरामद गरिएको भारतीय प्रहरीले जानकारी दिएको छ । प्रहरीले नोट बनाउन प्रयोग गरिने कागज, रसायन र अन्य सामग्रीसमेत नियन्त्रणमा लिइएको छ ।

घटनामा संलग्न १० जनालाई प्रहरीले पक्राउ गर‍ेकाे छ । पक्राउ पर्नेहरूमध्ये तीन जना नेपाली नागरिक रहेका छन् ।

प्रहरीका अनुसार बरामद गरिएको नक्कली नेपाली रुपैयाँ नेपालमा फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी प्रयोग गर्ने योजना बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गिरोहले सीमावर्ती क्षेत्रको प्रयोग गर्दै नक्कली नोट नेपाल भित्र्याउने तयारी गरिरहेको बताइएकाे छ ।

छापामारीका क्रममा तीन वटा मोटरसाइकल र एउटा कारसमेत बरामद गरिएको छ । सुरक्षा निकायले गिरोहका अन्य सदस्य र मुख्य योजनाकारको खोजी तीव्र बनाएको जनाएको छ ।