जनता टाइम्स

१९ माघ २०८२, सोमबार १०:५४

झापा–५ मा धिमाल समुदायको एमालेलाई संगठित समर्थन, सुरु गरे केपी ओलीलाई जिताउने अभियान 


दमक, माघ १९ । देशभर निर्वाचनको सरगर्मी बढ्दै जाँदा झापा क्षेत्र नं. ५ राजनीतिक रूपमा सबैभन्दा बढी चासोको केन्द्र बनेको छ । यस क्षेत्रबाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेकाले यहाँको चुनावी प्रतिस्पर्धा विशेष महत्वका साथ हेरिएको छ ।

झापा–५ विगतदेखि नै एमालेको बलियो पकड रहेको निर्वाचन क्षेत्र मानिन्छ । यही क्षेत्रको प्रमुख आदिवासी समुदाय धिमाल जाति यस पटक पनि संगठित रूपमा एमाले र अध्यक्ष ओलीको पक्षमा सक्रिय देखिएको छ । धिमाल जातीय विकास केन्द्रका राष्ट्रिय सचिव मणिराज धिमालका अनुसार एमालेले धिमाल समुदायलाई राजनीतिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा अघि बढ्ने अवसर निरन्तर रूपमा प्रदान गर्दै आएको छ । त्यसैले धिमाल समुदाय अन्य दलभन्दा एमालेप्रति बढी एकीकृत रहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार धिमाल समुदायको संस्थागत विकास, पहिचान संरक्षण तथा राजनीतिक प्रतिनिधित्वका सवालमा एमालेले प्रारम्भिक चरणदेखि नै अग्रसर भूमिका खेलेको छ । धिमाल समुदायका अगुवाहरूका अनुसार आगामी निर्वाचन केवल सत्ता परिवर्तनको विषय मात्र होइन, आफ्नो पहिचान, सम्मान र अधिकारको संरक्षणसँग जोडिएको छ । यही कारण एमालेको विजयलाई समुदायले भविष्य सुरक्षित गर्ने आधारका रूपमा हेरेका छन् ।

दमक–४ की सलिना धिमालले एमालेले धिमाल समुदायमा राजनीतिक चेतना विस्तारदेखि नेतृत्व विकाससम्म अवसर दिएको आफूले सानैदेखि देखेको बताउनुभयो । त्यसैले युवा पुस्तामा समेत एमालेप्रतिको विश्वास दृढ रहेको उहाँको भनाइ छ ।

पूर्वी नेपालका आदिवासी समुदायमध्ये ऐतिहासिक, सांस्कृतिक र राजनीतिक रूपमा विशिष्ट पहिचान बोकेको धिमाल जाति झापा, मोरङ र सुनसरीका केही भूभागमा सघन बसोबास गर्दै आएको छ । लामो समयदेखि राज्यसत्तासँग आफ्नो अस्तित्व, अधिकार र सहभागिताका सवाल उठाउँदै आएको यो समुदाय अहिले संगठित रूपमा एमालेको पक्षमा उभिएको देखिन्छ ।

धिमाल समुदायले करिब डेढ सय वर्षअघि जङ्गल फाँडेर, वन्यजन्तुसँग सङ्घर्ष गर्दै पूर्वी नेपालका दर्जनौँ बस्ती बसालेको इतिहास छ । मानव बस्ती विकासमा दिएको योगदानको कदर गर्दै स्थानीय तहको पहिलो निर्वाचनपछि एमाले नेतृत्वको दमक नगरपालिकाले धिमाल समुदायका व्यक्तिलाई ‘प्रथम नागरिक’ घोषणा गरेको थियो ।

यो अभ्यास पछि झापा र मोरङका अन्य स्थानीय तहसम्म विस्तार भएको छ । यसले समुदायको आत्मसम्मान र पहिचानमा दीर्घकालीन सकारात्मक सन्देश दिएको अगुवाहरू बताउँछन् ।

तर गत भदौ महिनामा ‘जेनजी’ नाममा भएको आन्दोलनका क्रममा दमक नगरपालिका परिसरमा राखिएको धिमाल समुदायको स्मारक तोडफोड गरिएको घटनाले समुदायलाई गहिरो चोट पुगेको उनीहरूको भनाइ छ । त्यसपछि असुरक्षाको भावना बढेको समेत अगुवाहरूले बताएका छन् ।

धिमाल समुदायका नेताहरू एमाले र समुदायबिच अविभाज्य सम्बन्ध रहेको बताउँछन् । धिमाल जातीय विकास केन्द्रका पूर्वअध्यक्ष रामबहादुर धिमालका अनुसार धिमाल समुदायको विकास, राजनीतिक पहुँच र सशक्तीकरणमा एमाले पहिलो राजनीतिक शक्ति बनेको छ । उहाँले नीति निर्माण तहमा पहुँच पुर्‍याउन, राजनीतिक अवसर सिर्जना गर्न र प्रतिनिधित्व सुनिश्चित गर्न एमालेले भूमिका खेलेको उल्लेख गर्नुभयो । यसमा अध्यक्ष ओलीको विशेष पहल र चासो रहने गरेको उहाँको भनाइ छ ।

त्यसै गरी एमालेबाट निर्वाचित भई दमक नगरपालिकाको उपप्रमुख भइसकेका लोकबहादुर धिमालले झापा–५ मा अध्यक्ष ओली उम्मेदवार हुनु धिमाल समुदायका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण विषय बनेको बताउनुभयो ।

उहाँका अनुसार २०४८ सालदेखि नै एमालेको तर्फबाट धिमाल समुदायका प्रतिनिधिहरू निर्वाचित हुँदै आएका छन्, जसले पार्टी र समुदायबिचको ऐतिहासिक सम्बन्धलाई अझ बलियो बनाएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अनुसार झापा र मोरङ धिमाल जातिको प्रमुख थातथलो हो । २०७८ सालको जनगणनाअनुसार धिमाल समुदायको जनसङ्ख्या २५ हजार ६ सय ४३ रहेको छ ।

प्रकृति पूजक संस्कार र आपसी सद्भावका कारण समुदायभित्र विश्वास र एकता बलियो रहेको बताइन्छ । धिमाल जाति नेपालमा आधिकारिक रूपमा आदिवासी जनजाति सूचीमा सूचीकृत छ ।

निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा धिमाल समुदायको संगठित समर्थनले अध्यक्ष ओलीको चुनावी अभियानलाई थप बल पुगेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।