जनता टाइम्स

१९ माघ २०८२, सोमबार १५:४६

शेखर कोइरालाद्वारा मोरङ–६ का मतदातालाई पत्र : ‘भ्रष्टाचार निर्मूल नगरी विकास सम्भव छैन’


काठमाडौं, माघ १९ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ का नेता, कार्यकर्ता तथा मतदातालाई पत्र पठाउँदै भ्रष्टाचारविरुद्धको प्रतिबद्धता दोहोर्याउनुभएको छ ।

मोरङ–६ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कोइरालाले पार्टीका क्रियाशील सदस्यसहित करिब ६५ सय जनालाई पत्र पठाएको उहाँको सचिवालयले जनाएको छ । कोइराला यसअघि पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियाे । पत्रमा उहाँले लेख्नुभएको छ, ‘मोरङ क्षेत्र नम्बर ६ बाट मलाई यो भौतिक बल र जिम्मेवारीमा पुर्‍याउनु हुने तपाईँप्रति म सदा आभारी छु, ऋणी छु, भ्रष्टाचार निर्मूल नगरी विकास निर्माण सम्भव छैन भन्ने मेरो मान्यता हो ।’

डा. कोइरालाले विगत लामो समयदेखि पार्टीभित्र र बाहिरका सार्वजनिक मञ्चहरूबाट विकास निर्माण र सुशासनको पक्षमा आवाज उठाउँदै आएको पनि उल्लेख गर्नुभएको छ । पत्रमा उहाँले मतदाताप्रति आत्मालोचनासमेत गर्दै भन्नुभएको छ, ‘मलाई निस्वार्थ भावबाट यसरी राष्ट्रिय जिम्मेवारीमा पठाउँदा मैले यस क्षेत्रका आफ्ना प्यारा दाजुभाइ, दिदीबहिनीहरूप्रति न्याय गर्न सकेको छैन भने म अन्तस्करणबाट क्षमाप्रार्थी छु ।’

कोइरालाले मोरङ–६ मा विकासका गतिविधिलाई तीव्रता दिने आकाङ्क्षा व्यक्त गर्दै यसको मूल्याङ्कन गर्ने अधिकार मतदातालाई नै रहेको बताउनुभएको छ । उहाँले पुनः कांग्रेसको रुख चिन्ह लिएर घरदैलोमा आएको उल्लेख गर्दै पार्टी पंक्तिलाई विजयी गराउन आह्वान गर्नुभएको छ ।

चुनावी अभियानसँगै मतदातालाई पत्र पठाउने क्रम निरन्तर जारी रहेको कोइराला सचिवालयले जनाएको छ ।