जनता टाइम्स

१९ माघ २०८२, सोमबार २१:१६

आफू अनुकूल परिणाम आए मात्र चुनाव गराउने सरकारको गलत मनसाय : पार्वत गुरुङ


काठमाडौं, माघ १९ । नेकपा (एमाले) का नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले आफू अनुकूल परिणाम आउने अवस्थामा मात्र निर्वाचन गराउने गलत मनसाय राखेको टिप्पणी गर्नु भएको छ ।

नेकपा एमालेबाट दोलखाका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका गुरुङले सोमबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया गर्दै वर्तमान सरकार निर्वाचनप्रति स्पष्ट नदेखिएकोले अझै पनि चुनाव हुन्छ कि हुँदैन भन्ने आशङ्का रहने बताउनुभयो । ‘सरकार आफू अनुकूल परिणाम आउने भए मात्रै निर्वाचन गराउने गलत मनसायका साथ प्रस्तुत भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा निर्वाचन हुन्छ भन्नेमा अझै आशङ्का गर्ने ठाउँ छ ।’

नेता गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्ति राष्ट्रहरूको इसारामा चलिरहेको आरोपसमेत लगाउनुभयो । उहाँका अनुसार रास्वपाको देश र जनताको पक्षमा केही गर्न सक्ने धरातल नभएको र बाह्य शक्तिहरूले प्रयोग गरिरहेको अवस्था छ । ‘रास्वपाको समाउने र टेक्ने कुनै आधार छैन,’ उहाँले जिकिर गर्नुभयो, ‘देश र जनताको पक्षमा केही गर्न सक्ने हैसियत पनि छैन ।’

गुरुङले एमाले जनताको पक्षमा काम गर्ने पार्टी भएकाले आगामी निर्वाचनमा विजयी हुने दाबीसमेत गर्नुभयो । उहाँले निर्वाचन निष्पक्ष र समयमै हुनुपर्नेमा जोड दिँदै सरकारको नियतमाथि प्रश्न उठाउनुभयो ।

आफू प्रचारमा होइन काममा  विश्वास गर्ने मान्छ भएको उहाँले दाबी गर्नु भयो । आफूले सामाजिक सञ्जालमा प्रचारमा आउनको लागि नभई नागरिकको समस्या समाधानको लागि काम गर्ने गरेको गुरुङले बताउनुभयो ।