धादिङ, माघ २० । यस वर्ष धादिङमा २ हजार ७ सय ३३ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध खोप लगाइने भएको छ।
जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकमा जानकारी दिँदै जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख तथा समितिका सदस्यसचिव अर्जुन पौडेलले जिल्लाका लक्षित किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने एचपिभी खोप लगाइने बताउनुभयो ।
नेपालभर सञ्चालन हुने एचपिभीखोप अभियान धादिङ जिल्लामा माघ २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरी तथा विद्यालय बाहिर रहेका १० वर्ष पूरा भएका ११ वर्षमुनिका किशोरीहरूलाई खोप दिइनेछ।
जनस्वास्थ्य कार्यालयका अनुसार अभियानका लागि आवश्यक खोप सामग्री जिल्लामा आइसकेको र वितरण प्रक्रिया सुरु भएको छ। जिल्लाभर २ सय ५६ वटा खोप केन्द्रमार्फत १ सय ९८ जना स्वास्थ्यकर्मी र ४ सय २६ स्वयंसेवक परिचालन गरी खोप सेवा प्रदान गरिनेछ।
खोप सुपरभाइजर पदमराज कैनीले विद्यालय बाहिर रहेका किशोरीहरू समेत छुट्न नदिन खोजी तथा पहिचान गरेर खोप लगाइने योजना रहेको जानकारी दिनुभयो। अभियानको समयमा कुनै कारणले खोप लगाउन छुटेका किशोरीहरूलाई फागुनमा सञ्चालन हुने नियमित खोप कार्यक्रममा समावेश गरिने जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्