बिराटनगर, माघ २० । नेकपा एमालेका सचिव तथा तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भानुभक्त ढकालले आगामी निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
प्रेस चौतारी मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ढकालले नयाँ शक्तिहरूको उदयलाई अस्थायी लहरको संज्ञा दिँदै एमालेको विजययात्रा नरोकिने बताउनु भएको हो ।
सचिव ढकालले झापा– ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिनेहरू हार्नका लागि हाएको बताउनु भयो । ‘झापा–५ मा केपी ओली उम्मेद्वार हुनुहुन्छ, उहाँसँग प्रतिस्पर्धामा जो–जो उम्मेद्वार बन्नुभएको छ, उहाँहरूको नतिजा पराजय नै हो,’ ढकालले भन्नुभयो, ‘केपी ओलीसँग लडाउनु भनेको प्रधानमन्त्री र दलको नेता बनाउन होइन, त्यो झन्झटबाट अहिले नै मुक्त गरौँ भन्ने मनसायले त्यहाँ पठाएको हो ।’
ढकालले झापा-५ का मतदाता देशबिरुद्ध लाग्नेको पक्षमा नरहेको पनि बताउनु भयो । एमाले सचिव ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य नयाँ शक्तिहरूको चर्चालाई खहरेको बाढीसँग तुलना गर्नुभयो । सामाजिक सञ्जाल र मिडियामा देखिएको लहर अस्थायी भएको र यसले स्थापित दलीय व्यवस्थालाई विस्थापित गर्न नसक्ने ढकालको भनाई छ।
‘दुई दिन बाढी आउँदा सधैँ यस्तै हुन्छ कि जस्तो लाग्छ, तर हरेक खहरे खोला जति ठूलो भएर आए पनि त्यसको स्थिरता हुँदैन,’ नयाँ भनिने दलहरूप्रति ढकालले भन्नुभयो, ‘यो एउटा फन्डा हो, जो अस्थायी र अस्थिर छ। दलहरू प्रतिको नेपाली जनताको समर्थन र विरासत अहिले पनि बरकरार छ।’
सचिव ढकालले हिजोको घेराबन्दी र विपक्षी मोर्चाको ट्राफिक जाम अहिले खुलेको भन्दै एमाले प्रत्यक्षतर्फ उल्लेख्य सिट जित्दै पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । एमालेको लोकप्रियता र सांगठनिक मजबुतीका कारण एकल बहुमतको सरकार बन्ने आधार तयार भएको जिकिर पनि ढकालले गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्