जनता टाइम्स

२० माघ २०८२, मंगलवार १४:१७

भदौ २३–२४ को घटना आन्दाेलन हाेइन षड्यन्त्र थियो,  चुनाव निष्पक्ष हुन्छ भन्ने विश्वास छैन, तै पनि एमाले पहिलो पार्टी बन्छ : पृथ्वी सुब्बा गुरुङ


काठमाडौं, माघ २० । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले भदौ २३ र २४ गते भएको घटनालाई आन्दोलन वा संघर्ष नभई ‘विस्फोट, षड्यन्त्र र प्रतिगमन’को संज्ञा दिनुभएको छ।

प्रेस चौतारी नेपालले मंगलबार आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले उक्त घटना विदेशी शक्तिको स्वार्थअनुसारकाे नेपालमा सहज सरकार बनाउने उद्देश्यले भएको बताउनुभयाे । उहाँले अहिले भइरहेको निर्वाचन प्रक्रिया पनि ‘चुनावी नाटक’ भएको टिप्पणी गर्दै आफ्ना पक्षधरलाई प्रतिनिधिसभामा स्थापित गराउने षड्यन्त्र अन्तर्गत चुनाव गराउन लागिएको दाबी गर्नुभयो।

“संकटको निकासका लागि भनेर अहिले चुनावी नाटक गरिँदै छ’, गुरुङले भन्नुभयो, ‘त्यसैले हामीले संविधान र संसद पुनःस्थापनाको कुरा उठाइरहेका छौँ, संसद पुनःस्थापनको औचित्य अझै सकिएको छैन।”

उपाध्यक्ष गुरुङले फागुन २१ गते हुने निर्वाचन धाँधलीरहित र निष्पक्ष हुनेमा एमालेको विश्वास नरहेको स्पष्ट पार्नुभयो। सरकारले संगठित अपराधसम्बन्धी मुद्दालाई सच्याउने कामसमेत षड्यन्त्रको एक कडी भएको आरोप लगाउँदै उहाँले सरकार नियोजित रूपमा आफूले चाहेको पार्टी र व्यक्तिलाई जिताउने योजनामा लागेको बताउनुभयो।

गुरुङले लोकतन्त्र खतरामा परेकाले लोकतान्त्रिक शक्तिबीच सहकार्य हुनसक्ने धारणा राख्दै कांग्रेससँग सहकार्यको सम्भावना रहेको उल्लेख गर्नुभयो।तर नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेकाले यो निर्वाचनमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा जाने उहाँको भनाइ छ। ‘चुनाव हुने अवस्था आयो भने भाग्ने कुरा हुँदैन’, उहाँले भन्नुभयो, ‘तर चुनाव हुने वातावरण अझै बनेको छैन।’

उपाध्यक्ष गुरुङले काठमाडौंमा सुकुम्बासी बस्ती भत्काउने काम गरेको भन्दै बालेन साहले झापा गएर सुकुम्बासीका लागि काम गर्छु भन्नु ‘चुनावी स्टन्टबाजी’ भएको टिप्पणी गर्नुभयो। उहाँले बालेनलाई ठूलो षड्यन्त्रका साथ झापा पठाइएको दाबी गर्दै अन्ततः सो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली नै विजयी हुने बताउनुभयो। “चुनावअघिसम्म बालेनले जित्छन् भन्ने हल्ला चलाइन्छ,” गुरुङले भन्नुभयो, “तर जित्ने केपी ओली नै हो, एमाले फेरि देशको पहिलो पार्टी बन्छ।”

गुरुङले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएकै कारण एमालेविरुद्ध षड्यन्त्र भएको दाबी गर्दै त्यो चिर्न नसक्दा भदौ २३–२४ को घटना भएको विषयमा पार्टीले आत्मालोचना गर्नुपर्ने बताउनुभयो। तर उक्त घटनामा एमालेले माफी माग्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ।

उपाध्यक्ष गुरुङले लामो इतिहास भएका पार्टीहरूको सान्दर्भिकता अझै कायम रहेको भन्दै आफूलाई नयाँ र अरूलाई पुरानो भन्नेहरू एजेन्डाविहीन भएका बताउनुभयाे । ‘केही पार्टी र व्यक्तिले आफूलाई नयाँ भन्दै अरूलाई पुरानो भनेर आरोप लगाइरहेका छन्’, उहाँले भन्नुभयो, ‘उनीहरू एजेन्डाबिहीन छन्, त्यसैले जनतामाझ फेस गर्न सकेका छैनन्।’

कार्यक्रममा गुरुङले आगामी निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे एमालेको धारणा स्पष्ट पार्नुभएको थियो ।