काठमाडौं, माघ २० । नेपाली कांग्रेसका उपसभापति तथा निर्वाचन कमाण्डर विश्वप्रकाश शर्माले नेताहरूलाई निर्वाचन क्षेत्र तोकेरै जिम्मेवारी दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन परिचालन समितिको संयोजकका हैसियतमा उपसभापति शर्माले नेताहरूलाई जिल्ला तोकेर जिम्मेवारी दिनुभएको हो ।
उपसभापति शर्माले गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनमा सहभागी नहुने नेतालाई पनि जिम्मेवारी दिनुभएको छ । तत्कालीन महामन्त्रीद्वय गगन थापा र शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई १४ औँ महाधिवेशनमा सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूह र उपविजेता डा. शेखर कोइराला समूहले स्वीकार गरिसकेको छैन ।
देउवा–कोइराला समूहले आधिकारिकताका लागि सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि सभापति थापाले देउवा र कोइराला समूहका केही नेतालाई उम्मेदवारको टिकट दिनुभएको थियो । त्यसबाट पनि सन्तुष्ट नभएका दुई समूहका केही नेतालाई उपसभापति शर्माले केन्द्रीय निर्वाचन परिचालन समितिको तर्फबाट जिल्ला तोकेर जिम्मेवारी दिनुभएको छ।
शर्माले जिम्मेवारी दिनुभएका नेतामा देउवा नेतृत्वको कार्यसमितिमा रहेका र विशेष महाधिवेशनमा सहभागी नभएका पदाधिकारी र केन्द्रीय सदस्यहरू छन् । देउवा नेतृत्वको समितिका सहमहामन्त्री भीष्मराज आङ्देम्बे, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, उमेशजंग रायमाझी, जीपछिरिङ लामा, उर्मिला थपलिया, दिलमान पाख्रिन, धना खतिवडा, गेहेन्द्र गिरीलाई जिम्मेवारी दिइएको छ ।
यसै गरी देउवा समूहका नेताहरू कृष्णकिशोर घिमिरे, चन्द्रबहादुर केसी, रुपा बिक, रंगमती शाही, मानबहादुर नेपाली, कान्तिक सेजुवाल, विद्यादेवी तिमिल्सिना, डा. रणबहादुर रावल, नृप वडासहितका नेताहरूलाई शर्माले जिम्मेवारी दिइएको हो ।
आङदेम्बे, विश्वकर्मा र रायमाझीलाई कोशी, थपलिया, लामा, नेपाली, पाख्रिन र खतिवडालाई वाग्मती, गिरी, घिमिरे, केसी र बिकलाई लुम्बिनी, शाही, नेपाली र सेजुवाललाई कर्णाली तथा तिमिल्सिना, रावल र वडालाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्