जनता टाइम्स

२० माघ २०८२, मंगलवार १९:०८

निर्वाचन आयोगद्वारा मतदाता तथ्यांक सार्वजनिक : देशभर १ करोड ८९ लाख मतदाता, रामेछापमा सबैभन्दा धेरै


काठमाडौं, माघ २० । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका मतदाता संख्या तथा निर्वाचन क्षेत्रअनुसार मतदान स्थल र मतदान केन्द्रको विवरण सार्वजनिक गरेको छ।

आयोगका अनुसार नेपालभर कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन्। सार्वजनिक तथ्यांकअनुसार सबैभन्दा धेरै मतदाता रहेको निर्वाचन क्षेत्र रामेछाप बनेको छ। रामेछापमा कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता रहेका छन्। धेरै मतदाता हुने सूचीमा अर्घाखाँची–१ दोस्रो र दोलखा–१ तेस्रो स्थानमा छन्।

सबैभन्दा कम मतदाता रहेको निर्वाचन क्षेत्र मनाङ हो, जहाँ जम्मा ७ हजार मतदाता मात्रै रहेका छन्।

सबैभन्दा बढी मतदाता भएका ५ निर्वाचन क्षेत्र

रामेछाप – १,८७,९५२

अर्घाखाँची – १,७१,६५२

दोलखा – १,७०,३२१

बर्दिया–१ – १,६८,०३४

काभ्रेपलाञ्चोक–२ – १,६५,५११

सबैभन्दा कम मतदाता भएका ५ निर्वाचन क्षेत्र

मनाङ – ७,०००

मुस्ताङ – ११,३२८

डोल्पा – २४,११५

हुम्ला – ३४,३७२

पूर्वी रुकुम – ३४,७७२

आयोगका अनुसार देशभर कुल १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन्। २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले यस निर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ।