बुटवल, माघ २०। नेकपा (एमाले) का उपाध्यक्ष तथा गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोकर्ण विष्टले देशलाई बाह्य तत्वबाट जोगाउने जिम्मेवारी एमालेको काँधमा आएको बताउनुभएको छ।
बुटवलमा गुल्मीको मालिका, मुसिकोट र रेसुंगा नगरपालिकाबाट आएका एमाले कार्यकर्तासँगको भेटमा विष्टले वर्तमान परिस्थितिमा देशलाई यहाँसम्म ल्याउने शक्तिहरूलाई जनताले मतमार्फत जवाफ दिनुपर्ने धारणा राख्नुभयो। उहाँले विगतका कमीकमजोरी सुधार गर्दै देश र संविधानको रक्षा गर्न एमालेको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्नुभयो। साथै आगामी निर्वाचनपछि एमाले पहिलो पार्टी बन्ने दाबी पनि उहाँले गर्नुभयो।
विष्टले अधुरा विकास निर्माणका काम पूरा गर्नुका साथै सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न आवश्यक परे संविधान संशोधन गरेर सबैका माग सम्बोधन गरिने बताउनुभयो। पूर्वमन्त्री समेत रहनुभएका विष्टले गुल्मी–२ मा एमालेको जितलाई कसैले रोक्न नसक्ने दाबी गर्दै अघिल्लो निर्वाचनमा गठबन्धनलाई पराजित गरेको स्मरण गर्नुभयो। यसपटक सबै दल एक्लाएक्लै चुनावी मैदानमा रहेकाले १२ हजारभन्दा बढी मतान्तरले विजयी हुने तथ्यांकले देखाएको उहाँको भनाइ छ।

उहाँले गुल्मी क्षेत्र नम्बर २ मा एमालेकै नेतृत्वमा विकासको लहर आएको दाबी गर्दै ४१ वटै वडालाई छुने गरी सडक कालोपत्रे योजना अघि बढिरहेको जानकारी दिनुभयो।
कार्यक्रममा राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले पनि देशलाई ‘नटवरलाल र महाठग’ बाट जोगाउनुपर्ने बताउँदै यस्ता पात्रहरू राजनीतिमा हाबी भए संसद् सर्कसमा परिणत हुने टिप्पणी गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्