बुटवल, माघ २० । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेलाई कसैले पनि किनारा लगाउन नसक्ने दाबी गर्नुभएको छ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ६ को वडा परिचालन कमिटीको प्रचार कार्यालय उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले एमाले नेपाली जनतामा विश्वासको आधार बनेको पार्टी भएकाले कुनै पनि शक्ति वा प्रयासले एमालेलाई कमजोर बनाउन नसक्ने बताउनुभयो। “कुहिनाले पहाड पन्छाउन सम्भव नभएजस्तै कसैले एमालेलाई पन्छाउने सपना नदेखे हुन्छ,” पौडेलले भन्नुभयो, “जनताको बीचमा विश्वासको घर बनाएको पार्टीलाई कसैले किनारा लगाउन सक्दैन।”
उहाँले देशको बागडोर सम्हाल्ने पार्टी बनाउन एमालेका उम्मेदवारलाई विजयी गराउने जिम्मेवारी जनताको काँधमा रहेको उल्लेख गर्नुभयो। उपाध्यक्ष पौडेलले जनताको साथ र समर्थनकै आधारमा एमाले चुनावी मैदानमा होमिएको भन्दै सम्पूर्ण कार्यकर्ता एकताबद्ध भएर पार्टीका उम्मेदवारलाई जिताउन लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
रुपन्देहीलाई देशकै विकसित क्षेत्रको रूपमा अघि बढाइएको उल्लेख गर्दै उहाँले बाँकी रहेका विकासका काम पनि एकसाथ सम्पन्न गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बुटवलका नागरिकको आशीर्वादले आफू पटक–पटक निर्वाचित भएको स्मरण गर्दै पौडेलले यसपटक पनि जनताको सद्भाव र मायाले आफूलाई थप उत्साहित बनाएको बताउनुभयो।
कार्यक्रममा एमाले समानुपातिक उम्मेदवार एजाज आलमले देशको भविष्य निर्माण र क्षेत्रको थप विकासका लागि उपाध्यक्ष पौडेललाई जिताउन सबै एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो।जगदीशचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
उपाध्यक्ष पौडेलले मंगलबार नै बुटवल–१२ तथा तिलोत्तमा वडा नम्बर १ र २ का निर्वाचन परिचालन कमिटी कार्यालयसमेत उद्घाटन गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्