पर्सा, माघ २० । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित पर्साका दुई जना पालिका प्रमुख नेकपा एमालेमा प्रवेश गर्नु भएकाे छ ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह र बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंहासन साह तेली मंगलबार औपचारिक रूपमा एमालेमा प्रवेश गर्नुभएको हो ।
उहाँहरूलाई एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गर्नुभयाे ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्ला स्तरीय बृहत कार्यकर्ता भेला पनि सम्पन्न भएको छ । भेलाले जिल्लामा जनविश्वास, एकता र उत्साहको नयाँ उचाइ दिएको एमालेले जनाएको छ ।

जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरू, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरू, जनप्रतिनिधिहरू तथा भातृ संगठनका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
भेलाकै अवसरमा बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीसहित जसपा नेपाल परित्याग गरी हजारौँको संख्यामा नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेको जनाइएको छ ।
एमालेले यस घटनालाई जनताको भरोसा र पार्टीप्रतिको आकर्षणको संकेत भन्दै विकास, स्थिरता र समृद्धिको पक्षमा उभिएको जनआवाजका रूपमा व्याख्या गरेको छ ।
प्रतिक्रिया दिनुहोस्