जनता टाइम्स

२१ माघ २०८२, बुधबार १३:२९

जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने कुराबाट एमाले भाग्दैन : डा. राजन भट्टराई


काठमाडौं, माघ २१। नेकपा एमालेका सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले संसद् पुनर्स्थापना लोकतन्त्र र संविधानलाई सहज बाटोमा फर्काउने उपाय भएको धारणा व्यक्त गर्नुभएको छ ।

प्रेस चौतारी नेपालले आज आयोजना गरेको काठमाडौं उपत्यकाका उम्मेदवारहरूसँगको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमाले नीतिगत रूपमा अहिले पनि संसद् पुनर्स्थापनाको पक्षमा रहेको स्पष्ट पार्नुभयो । “यसले लोकतन्त्र र संविधान सहज बाटोमा फर्कन्छ भन्नेमा हामी विश्वस्त छौँ,” उहाँले भन्नुभयो ।

यद्यपि उहाँले जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने प्रक्रियाबाट एमाले कहिल्यै नभाग्ने पनि स्पष्ट पार्नुभयो । “जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने कुराबाट एमाले भाग्दैन,” उहाँको भनाइ थियो ।

डा. भट्टराईले काठमाडौं उपत्यकाका अधिकांश सिटमा एमालेले जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मतदातालाई कुनै उत्तेजनामा नआई विवेकपूर्ण भावनाका साथ मतदान गर्न अनुरोध गर्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नागरिककै हातमा रहेको बताउनुभयो । “त्यो विवेक पुर्‍याउँदा एमाले जत्तिको पार्टी अरू छैन,” उहाँले भन्नुभयो, “सोही अनुसारको विवेक मतदाताले पुर्‍याउनुहुनेछ भन्ने विश्वास छ ।”

डा. भट्टराईले आगामी निर्वाचनलाई लोकतन्त्र र संविधानलाई सही दिशामा अघि बढाउने अवसरका रूपमा लिन आग्रह गर्नुभयो ।