जनता टाइम्स

२१ माघ २०८२, बुधबार १५:१०

सामाजिक सञ्जालमा दुरुपयोग, निर्वाचन आचारसंहिताको उल्लङ्घन बढ्दो : एमाले 


काठमाडौं, माघ २१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई गहिरो चासो र गम्भीरताका साथ नियालिरहेको जनाएको छ ।

पार्टीले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत मुलुकभरका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ६३ क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी गराउँदै निर्वाचनलाई सबै प्रकारका षडयन्त्र, जालझेल र घेराबन्दीविरुद्धको नागरिक तथा राजनीतिक खबरदारीको रूपमा व्याख्या गरेको छ । एमालेका अनुसार कर्णाली प्रदेशको रूकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ भने प्राविधिक कारणले मनाङमा उम्मेदवारी कायम हुन सकेन ।

विज्ञप्तिमा निर्वाचन क्षेत्रहरूमा स्थानीय वस्तुस्थितिका आधारमा विभिन्न राजनीतिक दल वा समूहसँग संवाद र सहमति भइरहेको उल्लेख गरिएको छ ।

सामाजिक सञ्जालमा दुरुपयोग बढेको एमालेको आरोप

एमालेले निर्वाचन प्रचार–प्रसारमा सामाजिक सञ्जाल तथा प्रविधिको बढ्दो दुरुपयोगप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभिन्न राजनीतिक दल, उम्मेदवार तथा पार्टीको निर्वाचन चिन्हका विषयमा भ्रम सिर्जना गर्ने उद्देश्यले कलाकारहरूको प्रयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण भइरहेको आरोप लगाइएको छ ।

एमालेले निर्वाचन चिन्ह परिवर्तन गरिएको भन्दै भ्रामक सामग्री तयार गरी प्रसारण गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरेको छ ।

यसै क्रममा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गालीगलौज, अमर्यादित र असभ्य शब्द प्रयोग गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ ।

भयरहित मतदान वातावरण अझै तयार नभएको भनाइ

एमालेले शान्ति–सुरक्षा आवधिक निर्वाचनको प्रमुख आधार भएको उल्लेख गर्दै मतदाताले स्वतन्त्र, भयरहित र निर्भिकतापूर्वक मतदान गर्न पाउने वातावरण अझै तयार नभएको दाबी गरेको छ ।

विज्ञप्तिमा विभिन्न जेल तथा सुधारगृहबाट भागेका कैदीबन्दी अझै फरार रहेको, हातहतियार बाहिरै रहेको र राजधानीमै संगठित लुटपाट तथा चोरीका घटना बढिरहेको उल्लेख गरिएको छ ।

बाराको परवानीपुरमा घरभित्रै पसेर आक्रमण गरी हत्या गरिएको घटनाले शान्ति सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको एमालेको भनाइ छ ।

पार्टीले घटनाको शीघ्र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र आगामी दिनमा कडा सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

आचारसंहिताको उल्लङ्घन बढ्दै गएको भन्दै चिन्ता

एमालेले निर्वाचन आचारसंहिताको प्रभावकारितामाथि प्रश्न उठाउँदै राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता तथा शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

यदि यस्ता गतिविधि नियन्त्रण नभए समाजमा अराजकता, हिंसा र विध्वंस बढ्न सक्ने भन्दै त्यसको जिम्मेवारी सरकार र सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी पनि एमालेले दिएको छ । विज्ञप्तिमा प्रेस संयोजक मीनबहादुर शाहीले हस्ताक्षर गर्नुभएको छ ।