झापा, माघ २१। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सर्वाधिक चर्चा र चासो झापा–५ को भइरहेको छ । झापा–५ देशव्यापी मात्र होइन, अन्तराष्ट्रिय जगतमा पनि चासो र चर्चाको बिषय बनिरहेको छ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका रुपमा परिचित यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र (बालेन) साह उम्मेदवार बनेर आएपछि चर्चा चुलिएको हो । ओली र बालेनबीचको प्रतिस्पर्धा निकै रोचक हुने प्रचारले पनि चर्चा बढेको छ । झापा–५ मा ओली र बालेनसहित २४ जना उम्मेदवार छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको वास्तविक मतपतको नमुना सार्वजनिक गरेको छ । जसअनुसार एमालेको चुनाव चिह्न ‘सूर्य’ सबैभन्दा अगाडि छ भने पहिलो लहरमा दायाँतर्फ क्रमशः नेपाली कांग्रेसको ‘रुख’, नेपाली कम्युनिस्ट पार्टीको (पाँचकुने तारा), रास्वपाको ‘घण्टी’ र राप्रपाको ‘हलो’ रहेको छ ।
झापा–५ मा ग्रेसबाट मंधरा चिमरिया, नेपाली कम्युनिस्ट पार्टीबाट रन्जित तामाङ, राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला, जनता समाजवादी पार्टीबाट धिरेन सुब्बा, जनमत पार्टीबाट अमृतलाल महतो उम्मेदवार हुनुहुन्छ । यसैगरी मंगोल नेशनल अर्गनाइजेसनबाट सानबहादुर मेचे, नेपाल जनमुक्ति पार्टीबाट पदम बहादुर जवेगु, राष्ट्रिय परिवर्तन पार्टीबाट सविन राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सुशान्त साम्पाङ राई, श्रम संस्कृति पार्टीबाट समिर तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट संजय राई उम्मेदवार हुनुहुन्छ ।
यस्तै राष्ट्रिय मुक्ति पार्टीबाट अमृत रसाइली, पिपुल फर्स्ट पार्टीबाट धर्मराज गुरागाईं उम्मेदवार हुनुहुन्छ । यस क्षेत्रमा खेमनाथ शिवाकोटी, डम्वर शाहु, पुस्कर खतिवडा र प्रकाश नेपालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्