काठमाडौं, माघ २१ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रियता नेपालको अस्तित्वको आधार भएको उल्लेख गर्दै विकास र समृद्धि सँगसँगै अघि बढ्दा नागरिकको पहिचान, संस्कृति र जीवनशैलीलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आदिवासी जनजाति आयोगको पाँचौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले विकासको नाममा विस्थापन होइन, सशक्तीकरण र अवसर विस्तार जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतालाई आत्मसात गर्दै विविधताबीचको एकता, सामाजिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको संरक्षण गर्ने संकल्प लिएको स्मरण गराउनुभयो । “समानुपातिक समावेशिता र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने जिम्मेवारी संवैधानिक आयोगहरूको हो,” उहाँले भन्नुभयो ।
उपराष्ट्रपति यादवले आदिवासी जनजाति आयोग संविधानले प्रत्याभूत गरेका अधिकारहरूको कार्यान्वयनमा मार्गदर्शक भूमिका निर्वाह गर्ने संवैधानिक निकाय भएको उल्लेख गर्नुभयो । आदिवासी जनजाति समुदायको विशिष्ट पहिचान, मौलिक संस्कार र संस्कृति राष्ट्रिय गौरवका आधारस्तम्भ भएको बताउँदै उहाँले यसको जगेर्ना, संरक्षण र संवर्द्धन गर्नु सामूहिक जिम्मेवारी भएको धारणा राख्नुभयो ।
उहाँले आयोगले अनुसन्धान, परामर्श, नीति सिफारिस तथा समन्वयलाई अझ सशक्त बनाउँदै अधिकार व्यवहारमा अनुभूत हुने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
विकासका योजनाले आदिवासी जनजातिको भाषा, संस्कृति र जीवनशैली विस्थापित नहोस् भन्ने संवेदनशीलता कायम राख्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले समाजका सबै वर्गले आफूलाई राज्यको समान हिस्सेदारका रूपमा अनुभूत गर्न सक्ने वातावरण निर्माण गर्न आयोगले मार्गदर्शक भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उपराष्ट्रपति यादवले आदिवासी जनजाति समुदायको सशक्तीकरणले दिगो शान्ति, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उहाँले निर्वाचन नेतृत्व चयन मात्र नभई नागरिक अधिकार अभिव्यक्त गर्ने माध्यम भएको बताउनुभयो । उहाँले निर्वाचनले नागरिकलाई राज्यको समान हिस्सेदार बनाउने वातावरण निर्माण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सम्बोधनको अन्त्यमा उपराष्ट्रपति यादवले आदिवासी जनजाति आयोग परिवार तथा सम्पूर्ण आदिवासी जनजाति समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्दै राज्यका सबै निकाय, नागरिक समाज र सरोकारवाला पक्षबीच सहकार्य निरन्तर कायम रहोस् भन्ने आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्