काठमाडौं, माघ २१ । राजनीतिमा सबैभन्दा खतरनाक कुरा हो-सत्तामा हुँदा कठोर र चुनावमा हुँदा करुणामय बन्ने कला। यही कलाको सबैभन्दा चर्चित अभ्यासकर्ता बनेका छन् काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र साह (बालेन)।
काठमाडौंमा उहाँको कार्यकालको एउटा स्थायी तस्बिर छ-डोजर। डोजरको गर्जन, नगर प्रहरीको हल्ला, भत्काइएका टहरा, सडकमा छरिएका सामान, र रातभरि आकाशमुनि बस्न बाध्य सुकुम्वासी नागरिकका अनुहार।
तर अहिले अर्को तस्बिर बनाइँदै छ-झापामा । यतिबेला काठमाडौं महानगरपालिका प्रमुखको पद बिचैमा छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिने भन्दै बालेन्द्र साह झापा पुग्नु भएको छ । फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ बाट साह चुनाव लड्दै हुनुहुन्छ ।
झापामा बालेन साह सुकुम्वासी बस्तीमा पुग्नु भएको छ । तर सुकुम्वासी बस्ती भत्काउन होइन । सुकुम्वासीसँग मत माग्न । झापामा उहाँ भावुक भाषण गरिरहनुभएको छ।झापामा उहाँ भन्नुहुन्छ-“म सधैँ सुकुम्वासीको पक्षमा छु।”
यो सुन्दा काठमाडौंका खोला किनारमा उठीबास लागेकाहरूलाई के लाग्ला ? डोजरले घर भत्काउँदा “पक्षमा छु” भन्ने शब्द कहाँ थियो?
नगर प्रहरी उतारेर लखेट्दा “करुणा” कहाँ लुकेको थियो? राजनीति हो भने यस्तो दोहोरोपन किन ? यदि नीति हो भने यस्तो नाटक किन ?
डोजरले शासन गर्ने काठमाडौं
बालेन साह महानगर प्रमुख बनेपछि काठमाडौंमा एउटा नयाँ ‘शासन शैली’ स्थापित भयो-डोजर शैली। यो शैली संवादले होइन, बल प्रयोगले अघि बढ्यो। यो शैली समाधानले होइन, विस्थापनले चर्चित भयो।
सुकुम्वासी समस्या नेपालका लागि नयाँ होइन। दशकौँदेखि राज्य असफल भएको विषय हो। तर बालेन साहले त्यो समस्यालाई समाधानको दिशामा होइन, प्रदर्शनको दिशामा पुर्याउनु भयो । विपन्न सुकुम्वासीको बिचल्ली बनाएर तमासा देखाउनुभयो । सुकुम्वासीका टहरा भत्काइयो। मानिस हटाइयो। बस्ती उजाडियो।
तर प्रश्न उही रह्यो- उनीहरू कहाँ जाने ? राज्यको विकल्प के हो ? पुनर्स्थापनाको योजना कहाँ छ ?
यी प्रश्नको उत्तर डोजरले दिएन। जवाफ शून्य रह्यो । डोजरले केवल ध्वंस गर्यो। डोजरले केवल दृश्य बनायो-विकासको नारा, तर पीडाको यथार्थ।
गरिबको पेटमाथि ‘व्यवस्था’ को लाठी
बालेन साहको अभियान सुकुम्वासी बस्तीमा मात्रै सीमित रहेन। काठमाडौंका फुटपाथमा पसिना बगाएर बाँच्नेहरू पनि निशानामा परे।
ठेलागाडा खोसियो। सामान जफत गरियो। साना व्यापारीलाई “अव्यवस्था” को नाममा हटाइयो।
फुटपाथ व्यापार गर्ने नागरिकहरू कुनै अपराधी थिएनन् । उनीहरू राज्यका लागि समस्या होइनन् । उनीहरू राज्य असफलताको परिणाम हुन् । तर महानगरको कठोर अभियानले गरिबलाई अपराधीझैँ व्यवहार गर्यो ।
सहरलाई चम्किलो बनाउने अभियान गरिबको जीवन अँध्यारो पारेर अघि बढ्यो। काठमाडौंमा टिक्न संघर्ष गरिरहेका सर्वसाधारणलाई ‘व्यवस्था’ को नाममा लखेटियो। त्यो व्यवस्थापन होइन, शक्ति प्रदर्शन थियो। केही व्यक्तिको सनक मात्र ।
नगर प्रहरीको कठोरता: नागरिकका लागि त्रास
महानगर प्रहरीको परिचालनले काठमाडौंमा एक प्रकारको भय सिर्जना गर्यो। संवादको ठाउँमा आदेश, समाधानको ठाउँमा बल र सहानुभूतिको ठाउँमा कठोरता।
कसैको घर भत्कँदा, कसैको पसल खोसिँदा, कसैको जीवन उजाडिँदा- महानगरको संवेदना कहाँ थियो ?
बालेन साहको लोकप्रियताको चमक त थियो, तर पीडितका आँसु पुछ्ने नीति थिएन। सस्तो लोकप्रियताको लागि आम मानिसको कोखामा लात हानिएको थियाे । टाउकोमा डण्डा बर्साइएको थियो ।
अब झापा: चुनावी भूमिकाको नयाँ रङ्गमञ्च
अहिले बालेन साह झापा क्षेत्र नं ५ मा पुग्नु भएको छ । उहाँ प्रतिनिधिसभा निर्वाचन लड्दै हुनुहुन्छ। अर्थात् अब महानगरको जिम्मेवारीभन्दा ठूलो महत्त्व चुनावले पाएको छ।
यो नै राजनीतिमा सबैभन्दा ठूलो प्रश्न हो- पाँच वर्षका लागि निर्वाचित नगर प्रमुख, आफ्नो कार्यकाल पूरा नगरी संसद्को यात्रामा किन ?
जनताले मेयर चुनेका थिए, सांसद होइन। तर सत्ता र लोकप्रियताको महत्त्व शायद जिम्मेवारीभन्दा ठूलो भयो।
झापामा पुगेर उहाँ सुकुम्वासी बस्तीमा फेरि ‘करुणा’ बाँड्दै हुनुहुन्छ। काठमाडौंमा कठोर, झापामा भावुक।
काठमाडौंमा डोजर, झापामा आँसु। यो राजनीति हो कि अभिनय ?
अझ रोचक कुरा के छ भने-बालेन साहले काठमाडौंमा बस्ती भत्काउनु “सुकुम्वासीको सुरक्षाका लागि” भएको तर्क गर्नुभएको छ।
वाह ! घर भत्काएर सुरक्षा ?
उठीबास लगाएर संरक्षण ?
डोजर चलाएर करुणा ?
यो तर्क सुन्दा लाग्छ-अब डोजर नै सामाजिक न्यायको प्रतीक हो ! तर विस्थापित नागरिकका लागि त्यो सुरक्षा होइन, विनाश थियो।
त्यो विकास होइन, उजाड थियो। त्यो करुणा होइन, पीडाको विस्तार थियो।
मतको लागि सहानुभूति, सत्ता लागि कठोरता ?
आज बालेन साहको झापा यात्रा सुकुम्वासीको पक्षधरता होइन, चुनावी अङ्कगणितको हिस्सा बनेको छ।
राजनीतिमा भाषण धेरै हुन्छ। तर्क मात्र होइन, कुतर्क पनि गर्न सकिन्छ । तर नागरिकले व्यवहार हेर्छन्।
काठमाडौंमा विस्थापन, झापामा सहानुभूति। काठमाडौंमा कठोरता, झापामा मिठास। यसले एउटा प्रश्न उठाउँछ- सुकुम्वासीको मुद्दा नीति हो कि भोटको साधन ? गरिबको पीडा राजनीतिक इन्धन बनाउनु सबैभन्दा ठूलो विडम्बना हो।
सुकुम्वासी समस्या: भाषणले होइन, न्यायले समाधान हुन्छ
सुकुम्वासी समस्या केवल टहरा भत्काएर समाधान हुँदैन। यो समस्या आवास नीति, रोजगारी, सामाजिक न्याय र सम्मानजनक पुनर्स्थापनासँग जोडिएको छ।
राज्यले गरिबलाई अपराधी होइन, नागरिक ठान्नुपर्छ। विकासले मानिसको घरबार खोस्नु हुँदैन । समृद्धिले कमजोरलाई विस्थापित गर्नु हुँदैन।
तर बालेनकाे राजनीति उल्टो बाटोमा छ- डोजर चलाएर लोकप्रियता, भाषण गरेर सहानुभूति। अझ बोल्दै नबोली बहादुर कहलिने कला ।
झापाका सुकुम्वासीले सोध्नै पर्छ
झापाका सुकुम्वासीले बालेन साहलाई एउटा प्रश्न सोध्नै पर्छ- काठमाडौंमा तपाईँको डोजरले उठीबास लगाएकाहरू पनि सुकुम्वासी नै थिए होइन ? त्यतिबेला तपाईँको करुणा कहाँ थियो ?
यदि सुकुम्वासीको पक्षधरता सत्य हो भने, त्यो काठमाडौंमा पनि देखिनुपर्थ्यो। यदि नीति हो भने, चुनावमा मात्र होइन, शासनमा पनि लागू हुनुपर्थ्यो।
काठमाडौंमा डोजर, झापामा आँसु- यस्तो राजनीति धेरै दिन टिक्दैन। जनताले अब अभिनय होइन, न्याय खोजिरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्