जनता टाइम्स

२१ माघ २०८२, बुधबार २२:५२

सरकारले निर्वाचनमा धाँधली गर्ने चलखेल सुरु गर्‍याे : केपी ओली 


काठमाडौं, माघ २१ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गराउने तयारी गरेर मतधाँधलीको संभावना सिर्जना गर्न खोजिरहेको आशंका व्यक्त गर्नुभएको छ।

बुधबार साँझ काठमाडौंमा आयोजित झापाली समुदायसँगको निर्वाचन विशेष भेटघाट कार्यक्रममा उहाँले हिमाली भेगमा निर्वाचन हुन नसक्ने बहानामा दुई चरणको चर्चा चलेको प्रति गम्भीर प्रश्न उठाउनुभएको हो। अध्यक्ष ओलीले निर्वाचन प्रक्रियामा पारदर्शिता र निष्पक्षता अनिवार्य रहेको स्पष्ट पार्दै भन्नुभयो, “मतपेटिका एक सेकेण्डका लागि पनि पार्टी प्रतिनिधि वा उम्मेदवारको आँखाबाट ओझेल पर्न हुनेछैन, मतदान सकिनासाथ मतपेटिका तत्कालै पार्टी प्रतिनिधिहरूको रोहबरमा मतगणना स्थलमा पुर्‍याएर त्यहीँ खोलेर गणना गर्नुपर्छ ‘मतपेटिका राखेर छोड, हामीमाथि विश्वास गर’ भन्ने चल्दैन।”

अध्यक्ष ओलीले हिमाली क्षेत्रमा हिउँ पर्ने कुरा पहिलेदेखि नै थाहा हुँदाहुँदै अहिले आएर मात्रै निर्वाचन हुन नसक्ने भनिनु शंकास्पद रहेको टिप्पणी गर्नुभयो। उहाँले एकै दिन निर्वाचन हुन नसक्ने अवस्था भए पनि मिति सारेर भए पनि एकै चरणमा चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।

ओलीले एमालेको स्पष्ट अडान प्रष्ट गर्दै भन्नुभयो कि पार्टी धाँधली गरेर निर्वाचनको नाटक चल्न दिने छैन। साथै, राज्यले कसैलाई जिताउने वा हराउने नियत राखे देशमा ठूलो अनिष्ट निम्त्याउने चेतावनी दिनुभयो।

उहाँले यो कुरा रोदनको रूपमा नलिन आग्रह गर्दै, यदि निष्पक्षता कायम नभए प्रतिवाद हुने स्पष्ट पारे। अध्यक्ष ओलीका अनुसार एमाले केवल चुनाव खेल्न बनेको पार्टी नभई, देश बनाउने जिम्मेवारी लिएको राजनीतिक शक्ति हो।