आनन्द पाेखरेल
फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारहरू प्रचार–प्रसार तथा परिचालनमा तीव्र रूपमा जुटिरहेका छन्। तर आजको निर्वाचन प्रतिस्पर्धा अघिल्ला चुनावझैँ केवल नाराबाजी, भीड प्रदर्शन वा संगठनको आकारमा सीमित छैन। जनताको चेतना बद्लिएको छ, अपेक्षा बढेको छ र निराशा पनि गहिरिएको छ। यही परिवर्तित चेतनाले आजको निर्वाचनलाई ‘भाषणको होइन, व्यवहारको परीक्षा’ बनाइदिएको छ।
आजका मतदाता उम्मेदवारको मञ्चीय भाषणभन्दा बढी उसको दैनिक आचरण, कार्यशैली, संवाद गर्ने क्षमता र जनताप्रतिको व्यवहारलाई नियालिरहेका छन्। नेता र कार्यकर्ताको बोली, व्यवहार र सहकार्य क्षमतामै मतदाताले पार्टीको भविष्य देख्न थालेका छन्। त्यसैले अब निर्वाचन जित्ने आधार केवल संगठन वा नारामा होइन, पार्टी र उम्मेदवारको क्षमता तथा व्यवहारमै निर्भर छ।
१. उम्मेदवारको क्षमता : घमण्ड होइन, नम्रताबाट विश्वास
निर्वाचन जित्न उम्मेदवार, नेतृत्व र कार्यकर्ताबीच सशक्त समन्वय, सहकार्य र निरन्तर संवाद अपरिहार्य हुन्छ। यसका लागि उम्मेदवार घमण्ड, दम्भ र अहंकारबाट होइन, नम्रता, संयम र जिम्मेवारीबाट चिनिनुपर्छ। जनताको कुरा ध्यानपूर्वक सुन्ने, आलोचना सहने र समाधान प्रस्तुत गर्ने नेतृत्व नै आज विश्वसनीय ठहरिन्छ।
त्यस्तै, कार्यकर्ताले पनि गाली, धम्की र उत्तेजनाको राजनीति त्याग्नुपर्छ। उनीहरू सभ्य संवाद, तथ्य र तर्कका वाहक बन्नुपर्छ। नेता र कार्यकर्ताबीच निरन्तर संवाद कायम रहन सके मात्र संगठन बलियो हुन्छ र जनतासँगको सम्बन्ध मजबुत बन्छ।
२. जनतासँग समन्वय र संवाद : विश्वास निर्माणको पहिलो खुड्किलो
निर्वाचनमा जनमत आकर्षित गर्न उम्मेदवार र पार्टीले सबैभन्दा पहिले जनताको वास्तविक समस्या बुझ्नुपर्छ। बेरोजगारी, महँगी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानीजस्ता मुद्दा आज पनि जनताका प्रमुख सरोकार हुन्।
ठूला भाषण र खोक्रा आश्वासनभन्दा टोल–टोलमा पुगेर जनगुनासो सुन्ने राजनीति आजको आवश्यकता हो। जनताले के चाहेका छन्, किन निराश छन् र के अपेक्षा गरेका छन् भन्ने बुझेर मात्र विश्वसनीय प्रतिबद्धता प्रस्तुत गर्न सकिन्छ। भाषाशैली सरल, स्पष्ट र स्थानीय हुनुपर्छ। जनतालाई आदेश दिने होइन, सहयात्रीको रूपमा व्यवहार गर्नु नै आजको सफल राजनीतिको आधार हो।
३. काम र उपलब्धिमा आधारित राजनीतिक सन्देश
आजका मतदाता नारा सुन्न होइन, कामको परिणाम हेर्न चाहन्छन्। त्यसैले विगतमा एमाले नेतृत्वमा भएका पूर्वाधार विकास, नीति निर्माण, राष्ट्रिय स्वाधीनतासम्बन्धी पहलजस्ता ठोस उपलब्धि तथ्यसहित प्रस्तुत गर्नुपर्छ।
अवास्तविक सपना देखाउने, भावनात्मक उत्तेजना फैलाउने वा विरोधीलाई मात्र दोष दिने शैलीले दीर्घकालीन विश्वास निर्माण गर्न सक्दैन। ‘के गरियो’ र ‘अब के गरिन्छ’ भन्ने कुरा स्पष्ट योजना, समयसीमा र सम्भावनासहित राख्न सकियो भने मात्रै मतदाता विश्वस्त हुन्छ।
४. नेतृत्व र उम्मेदवारबीच प्रभावकारी समन्वय
चुनावी सफलताका लागि पार्टीभित्र एकता, अनुशासन र स्पष्ट सन्देश अनिवार्य हुन्छ। केन्द्र, प्रदेश र स्थानीय नेतृत्वबाट जाने सन्देश एउटै हुनुपर्छ। गुटबन्दी, आपसी आरोप–प्रत्यारोप र सार्वजनिक विवादले पार्टीको छवि कमजोर बनाउँछ। यस्तो अवस्था देखिन नदिन पार्टी नेतृत्वले समयमै हस्तक्षेप गर्नुपर्छ।
स्थानीय नेता तथा कार्यकर्तालाई स्थानीय मुद्दामा निर्णय गर्ने अधिकार दिँदा जनतासँगको सम्बन्ध अझ बलियो हुन्छ। नेतृत्वको भूमिका निर्देशन दिनेभन्दा बढी सहयोगी र मार्गदर्शक बन्न सके संगठन प्रभावकारी बन्छ।
५. कार्यकर्तासँग सहकार्य : संगठनको मेरुदण्ड
कार्यकर्ता कुनै पनि पार्टीको मेरुदण्ड हुन्। उनीहरूलाई केवल प्रचारको साधन होइन, राजनीतिक साझेदारका रूपमा सम्मान गर्नुपर्छ। जिम्मेवारीको स्पष्ट बाँडफाँड, निर्णय प्रक्रियामा सहभागिता र मनोबल उच्च राख्नु अत्यावश्यक छ।
घरदैलो अभियानमा कार्यकर्ताको भूमिका निर्णायक हुन्छ। साथै, युवा कार्यकर्तामार्फत सामाजिक सञ्जालमा तथ्यमा आधारित, मर्यादित र सकारात्मक प्रचार प्रभावकारी बन्न सक्छ। आन्तरिक असन्तुष्टि वा विवाद निर्वाचनअघि नै समाधान गर्न सकिएन भने त्यसको असर मतदान परिणाममा प्रत्यक्ष देखिन्छ।
६. व्यवहारिक जितको सूत्र
जनताको कुरा सुन्ने क्षमताले विश्वास आर्जन गर्छ। स्थानीय मुद्दामा केन्द्रित राजनीति मत आकर्षणको सबैभन्दा प्रभावकारी उपाय हो। पार्टीभित्र एकता, अनुशासन र सुशासन कायम गरियो भने विश्वास स्वतः बढ्छ। तथ्य, सत्य र कामको प्रस्तुति गर्न सके जनताबाट दीर्घकालीन समर्थन प्राप्त गर्न सकिन्छ। नम्रता, सहज पहुँच र आत्मीय व्यवहारले जनताको मन जित्न सकिन्छ र यही मन नै अन्ततः मतमा रूपान्तरण हुन्छ।
अन्त्यमा
आजको निर्वाचन नारा, शक्ति प्रदर्शन वा संगठनको आकारले मात्र जितिँदैन। जनताको विश्वास जित्न संवाद, व्यवहार र विश्वसनीयता नै निर्णायक तत्व हुन्। नेकपा (एमाले) ले यी पक्षलाई व्यवहारमा उतार्न सके फाल्गुन २१ को निर्वाचनमा जनमत आफ्नो पक्षमा ल्याउने स्पष्ट सम्भावना रहन्छ।
उम्मेदवारले कहिल्यै नबिर्सनुपर्ने तीन सत्य छन् :
जनतालाई भीड होइन, साझेदार ठान्ने राजनीति गर्नुपर्छ।
विरोधीलाई दुश्मन होइन, प्रतिस्पर्धी मान्ने संस्कार बसाल्नुपर्छ।
सत्ता होइन, सेवाको भावलाई आत्मसात् गर्नुपर्छ।
यी मान्यतामा टिकेर अघि बढ्ने उम्मेदवार र पार्टीलाई निर्वाचनमा हराउन गाह्रो पर्छ।













प्रतिक्रिया दिनुहोस्