जनता टाइम्स

२२ माघ २०८२, बिहीबार २१:०८

यति बेला एउटा पक्ष देश बनाउने अठोटका साथ उभिएको छ, अर्को पक्ष देशमा आगो लगाएर अघि बढेको छ : कैलाश ढुङ्गेल


रामेछाप, माघ २२ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले नेकपा एमाले नै नेपालको विकास र समृद्धिको नेतृत्व गर्ने एकमात्र राजनीतिक शक्ति भएको दाबी गर्नुभएको छ ।

रामेछापको सुनापति गाउँपालिकामा बिहीबार आयोजित मतदातासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढुङ्गेलले नेपालको विकास अभियान एमालेले नै सुरु गरेको बताउनुभयो । उहाँले समृद्धिको नेतृत्व गर्ने पार्टी भएकाले एमालेले कसैका अगाडि शिर झुकाउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

‘नेपालको विकास र समृद्धिमा एमाले बाहेक अरू कसैको रगत–पसिना बगेको छैन,’ ढुङ्गेलले भन्नुभयो, ‘विकासका ठोस काम गर्ने पार्टी एमाले हो ।’

अध्यक्ष ढुङ्गेलले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका कारण नचाहँदा–नचाहँदै निर्वाचनको अवस्थामा पुग्नुपरेको बताउनुभयो । उहाँका अनुसार यो निर्वाचन अघिल्ला निर्वाचनझैँ केवल सत्ता र प्रतिपक्षको सामान्य प्रतिस्पर्धा मात्र होइन । ‘यो चुनाव देश बनाउने र देश जलाउने दुई कित्ताबिचको सोझो लडाइँ हो,’ ढुङ्गेलले भन्नुभयो, ‘एउटा पक्ष आगो लगाएर देश सिद्ध्याउने कुरा गर्छ, अर्को पक्ष देश बनाउने अठोटका साथ उभिएको छ ।’

उहाँले देश जलाउने प्रवृत्तिले जिते मुलुकको अस्तित्व नै समाप्त हुने चेतावनी दिनुभयो । ‘देश समाप्त भयो भने कसैको भविष्य रहँदैन,’ भन्दै उहाँले देश जोगाउन सूर्य चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गर्नुभयो ।

ढुङ्गेलले भाङ खाएर हिँड्नेहरूले कालो चस्मा लगाएर देश जलाउँदै हिँडेको आरोप लगाउँदै एक मन्त्री बन्नका लागि सिंहदरबार जलाउनेसम्मका कुकर्म गरिएको टिप्पणी पनि गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार माधवप्रसाद ढुङ्गेललगायत नेकपा एमालेका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो ।