काठमाडौं, माघ २२ । बैतडीमा बेहुली लिएर फर्किँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।
सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस पुर्चौँडी नगरपालिका–७ स्थित बडगाउँ मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुका अनुसार बस पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा दुर्घटनामा परेको हो ।
दुर्घटनामा बझाङ बित्थडचिर–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, केदारस्युका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी–७ का ४० वर्षीय वसन्तराज रतला तथा बैतडी पुर्चौँडी–७ की ४० वर्षीया पुष्पा अवस्थीकोघटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशीकाे उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा परेका ४५ जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।














प्रतिक्रिया दिनुहोस्