कैलाली, माघ २३ । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि एमाले नेतृत्वको सरकार अपरिहार्य रहेको बताउनु भएको छ ।
प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको अवसरमा धनगढीमा आयोजित अक्षयकोष स्थापना, पुरस्कार वितरण तथा स्मारिका विमोचन कार्यक्रममा बोल्दै उहाँले आसन्न निर्वाचनमा एमालेको जित आवश्यक रहेको धारणा राख्नु भयो । ‘राष्ट्रियता जोगाउन एमालेको सरकार आवश्यक छ, आसन्न निर्वाचनमा एमालेलाई जिताऔँ,’ उहाँले भन्नुभयो ।
उपमहासचिव भट्टले देशमा स्थायित्व कायम गर्न पार्टीले नचाहँदा नचाहँदै पनि निर्वाचन स्वीकार गरेको स्पष्ट पार्नुभयो। ‘हामीले यो निर्वाचन चाहेका होइनौँ, तर देशको स्थायित्वका लागि निर्वाचनमा होमिएका हौँ,’ भट्टले भन्नुभयो ।
राजनीतिक दर्शनविना देशको संस्कृति जोगिन नसक्ने भन्दै उहाँले संस्कृतिलाई ध्वंस गर्न खोज्ने शक्तिबाट देश निर्माण सम्भव नहुने बताउनुभयो ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिनुभएका भट्टले भूगोल र जनताको मनोविज्ञान बुझ्ने नेतृत्वको आवश्यकता औँल्याउनु भयाे। ‘गुगल हेरेर बोल्ने नेता होइन, भूगोल र जनताको मनोविज्ञान बुझ्ने नेता चाहिन्छ,’ उहाँले भन्नुभयो ।
आफूले अघि सारेका विकास आयोजनाहरूलाई पूर्णता दिन पुनः उम्मेदवारी दिएको उहाँले जिकिर गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्