जनता टाइम्स

२३ माघ २०८२, शुक्रबार ०९:५६

मोड नपुगेर ब्याक गर्दा भीरबाट खस्यो जन्ती बोकेको बस


बैतडी, माघ २३ । साँघुरो बाटोमा मोड नपुगेर ब्याक गर्दा बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको पाइएको छ । बैतडीमा बिहीबार बेलुका जन्ती बोकेको बस दुर्घटनामा परी बेहुलाका घर परिवारका सदस्य र आफन्त सहित १३ जनाको ज्यान गएको छ ।

बिहीबार बेलुका साढे सात बजेतिर पुर्चौडी नगरपालिका-७ भौनीबाट बेहुली लिएर घर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट सु.प्र ०२-००१ ख १११९ नम्बरको बस बस सडकबाट झन्डै सय मिटर तल खसेको थियो । दुर्घटनामा ३४ घाइतेमध्ये गम्भीर रहेका पाँच जनालाई थप उपचारका लागि कैलालीको धनगढ रेफर गरिएको छ ।

दुर्घटनालगत्तै फरार रहेका बसका चालक कञ्चनपुर भिमदत्त नगरपालिका-७ हल्दुखालका ४२ वर्षीय वीरेन्द्र बुढालाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउपछि चालक बुढाले घुम्तीमा कटिङ नपुगेपछि ब्याक गरी मोड कटाउन खोज्दा बस भीरबाट खस्न पुगेको बताएको जानकारी दिएको छ ।

’साँघुरो र उकालो बाटोमा बस मोड्न खोज्दा कटिङ पुगेन,’ चालक बुढाको भनाइ उद्धत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपककुमार रायले भन्नुभयो । रायका अनुसार चालकले थपेका छन, ‘गाडी ब्याक गर्नुपर्ने भयो। ब्याक गर्दा ब्रेकले काम गरेन र गाडी खस्न पुग्यो ।’ साँघुरो बाटो र ओभरलोडका कारण दुर्घटना भएको बताइएको छ ।

बस बैतडीको पुर्चौंडीबाट बेहुली लगेर बझाङको सुनकुडातर्फ फर्कदै गर्दा मोडबाट खसेको थियो । बित्थडचिर गाउँपालिका-७ का वडाध्यक्ष दिनेशबहादुर अधिकारीले बेहुलीको घरबाट बिदाइ भइ हिडेको जन्ती बस पाँच सय मिटर पुग्दा नपुग्दै दुर्घटनामा परेको बताउनु भयो ।

दुर्घटनाका घाइते मध्य पाँच जनाको डडेलधुरा अस्पतालमा राति नै मृत्यु भएको थियो । डडेलधुरा अस्पतालमा उपचारका क्रममा बझाङ बित्थडचिर गाउँपालिका-७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्यूँ गाउँपालिकका-७ का २७ वर्षीय केशवराज भट्ट, र पचौंडी नगरपालिका-७ का १४ वर्षीया सुशील जोशीको उपचारका क्रममा मृत्यु भएको हो ।

बैतडीका प्रहरी प्रमुख डिएसपी रायका अनुसार पहिले नै बित्थडचिर गाउँपालिका-७ का ४० वर्षीय केशवराज जोशी र १३ वर्षीय अशोकराज जोशीको मृत्यु भएको थियो । उनीहरु बाबु छोरा हुन । ४२ वर्षीय नरेशराज जोशी र ४१ वर्षीय विष्णुदत्त जोशी दाजु भाइ हुन । यस्तै २४ वर्षीय वसन्त जोशी बेहुलाका काकाका छोरा हुन । मृतक मध्य बझाङको जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय वसन्तराज रतला बेहुलाका भिनाजु हुन ।

दुर्घटनाका थप ३४ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसैबीच बझाङका एमाले नेता ऐन महर राती नै डडेलधुरा अस्पताल पुगेर घाइतेको अवस्था र उपचारबारे जानकारी लिनुभएको छ । बझाङका उममेदवार महर चुनावी प्रचार रोकेर घाइतेको उपचारमा सघाउन डडेलधुरा अस्पताल पुग्नुभएको हो ।

Untitled design – 1