दमक, माघ २३ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ आइपुग्नु भएको छ । चन्द्रगढी विमानस्थलबाट अध्यक्ष ओली बिर्तामोड हुँदै निर्वाचन क्षेत्र झापा ५ स्थित दमक आइपुग्नु भएको हो ।
अध्यक्ष ओलीलाई चन्द्रगढी बिमानस्थलमा एमाले सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि सभाका निवर्तमान सभामुख देवराज घिमिरे, केन्द्रीय सदस्य देवेन्द्र दाहाललगायतका एमालेका नेता तथा कार्यकर्ताहरूले स्वागत गर्नुभयो । विमानस्थलमा पुगेका सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा अध्यक्ष ओलीले जवाफ नभइ झापाको निर्वाचनका विषयमा भइरहेका कामका बारेमा सुझाव माग्नुभयो ।
उहाँले शन्ति सुरक्षाको अवस्था र निर्वाचनको वातावरणका विषयमा पत्रकारहरूको प्रतिक्रिया सुनेपछि एमालेमय झापा र एमालेमय देश बनाउन सहयोग गर्न अपिलसमेत गर्नुभयो । ‘तपाई.हरूका सुझाव राम्रा छन, मननयोग्य छन । अहिले देश विषम परिस्थितमा पुगेको छ । देशलाई जोगाउन एमालेमय झापा र एमालेमय देश बनाउन आवश्यक छ,’ ओलीले भन्नुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ता गराउन माघ ४ गते झापा आउनु भएका ओली माघ ९ गते काठमाडौं फर्कनुभएको थियो । त्यसपछि आज आउनु भएको हो । अध्यक्ष ओली एक साता आफ्नो निर्वाचन क्षेत्रमा बस्ने कार्यक्रम रहेको एमाले झापा सचिव तुलसी कार्कीले जानकारी दिनुभयो ।
झापा-५ डोरामारीका निवासी सचिव कार्कीले अध्यक्ष ओली भोली र पर्सी कमल गाउँपालिका केन्द्रित भेटघाटमा रहने जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष ओली यसपटक पालिका केन्द्रित कार्यक्रममा ब्यस्थ रहनुहुनेछ । सो क्रममा भेटघाटलाई बिशेष प्राथमिकतामा राखिएको सचिव कार्कीको भनाई छ ।














प्रतिक्रिया दिनुहोस्