जनता टाइम्स

२३ माघ २०८२, शुक्रबार १७:२७

देशलाई‘सूर्यमय’ बनाउन अध्यक्ष ओलीको आह्वान : ‘देश जोगाउन एमालेमय झापा आवश्यक’


काठमाडौं, माघ २३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला यसपटक ‘सूर्यमय’ हुने विश्वास व्यक्त गर्नुभएको छ।

गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले झापा पूर्ण रूपमा एमालेमय हुने दाबी गर्नुभयो। देश अहिले विषम परिस्थितिमा पुगेको उल्लेख गर्दै उहाँले राष्ट्रिय हित र स्थायित्वका लागि एमालेमय झापा र एमालेमय देश आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। ‘अहिले देश विषम परिस्थितिमा पुगेको छ। देशलाई जोगाउन एमालेमय झापा र एमालेमय देश बनाउन आवश्यक छ,’ अध्यक्ष ओलीले भन्नुभयो।

उहाँले झापाली जनताको माया, विश्वास र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै झापालाई ‘सूर्यमय’ बनाउन पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूलाई आ–आफ्नो स्थानबाट सक्रिय योगदान गर्न आह्वान गर्नुभयो।

अध्यक्ष ओलीले युवापुस्ताको सक्रिय सहभागिता पार्टीका लागि सकारात्मक संकेत भएको बताउनुभयो। युवाहरू एमालेको पक्षमा जनमत निर्माण गर्न सक्रिय रूपमा लागेको उल्लेख गर्दै उहाँले युवाशक्तिको ऊर्जा र समर्पणले पार्टीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

यसअघि अध्यक्ष ओलीलाई चन्द्रगढी विमानस्थलमा नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वसभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाललगायत पार्टीका नेता–कार्यकर्ता र युवाहरूको उल्लेखनीय उपस्थितिमा स्वागत गरिएको थियो।