जनता टाइम्स

२३ माघ २०८२, शुक्रबार २३:०३

प्रेस चौतारी उपत्यकाको नेतृत्व फेरियो, अध्यक्षमा राजकुमार, समाजवादीका अध्यक्ष बिष्णुलाई भित्र्याएर उपाध्यक्षको जिम्मेवारी


काठमाडौं, माघ २३ । प्रेस चौतारी नेपालको उपत्यका प्रदेश समितिको नेतृत्व फेरिएको छ । शुक्रवार बसेको प्रदेश समितिको बैठकले अध्यक्ष सीता पौडेल –अर्चना) ले दिनुभएको राजीनामा स्वीकृत गरी उपाध्यक्ष राजकुमार सिलवाललाई कार्यबहाक अध्यक्षको जिम्मेवारी तोकेको हो ।

प्रेस चौतारीका नेता बिश्वमणि सुवेदी र महासचिव हिरामान लामा सहभागी बैठकले कार्यबहाक अध्यक्षलाई अध्यक्षले प्रयोग गर्ने सम्पूर्ण अधिकारसमेत दिएको छ । अधिवेशनबाट निर्वाचित अध्यक्ष सीता पौडेलले ब्यक्तिगत कारण जनाई पदबाट राजीनामा दिनुभएपछि समितिको बैठकले स्वीकृत गर्दै कार्यबहाक तोकेको हो ।

प्रेस चौतारीको केन्द्रीय कार्यालयमा सम्पन्न प्रदेश कमिटीको बैठकले राजीनामा स्वीकृत र नयाँ नेतृत्व चयन गरेको हो । सिलवाल उक्त कमिटीका उपाध्यक्ष हुनुहुन्थ्यो । बैठकले उपाध्यक्षमा विष्णु रैगाई चयन गरेको छ । रैगाई समाजवादी प्रेस संगठनको उपत्यका प्रदेश अध्यक्षको जिम्मेवारी परित्याग गरी प्रैस चौतारीमा फर्किनुभएको हो । बैठकले रामकृष्ण भट्टलाई सदस्यमा मनोनयन गरेको छ ।

बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उपत्यकाका तीनवटै जिल्लामा प्रभावकारी रुपमा प्रचार कार्य अघि बढाउन योजना तय गरेको महासचिव सौगात मिश्रले जानकारी दिनुभयो । बैठकमा महासचिव हिरामान लामाले संगठनको कुनै पनि काम गर्न केन्द्रीय कार्यालय, पदाधिकारीको मुख नताकी इञ्चार्जको नेतृत्व र निर्देशनमा रहेका गर्न निर्देशन दिनुभएको मिश्रले बताउनु भयो ।

प्रेस चौतारीको बिराटनगरमा सम्पन्न १०औं महाधिवेशनले प्रदेशका इञ्चार्ज प्रत्यक्ष निर्वाचित हुने ब्यवस्थासहित निर्वाचित गरेको स्मरण गराउँदै महासचिव लामाले अव केन्द्रका पदाधिकारीको मुख ताकेर काम नगर्ने प्रबृत्तिको अन्त्य गर्नुपर्ने बताउनु भएको हो ।

बैठकमा केन्द्रीय सदस्य तथा उपत्यकाका सहइञ्चार्ज शिव बस्नेत, केन्द्रीय सदस्य तथा निवर्तमान अध्यक्ष बिष्णु आचार्यलगायतका नेताहरुले महाधिवेशनले पारित गरेको बिधानले तोकेको आधारमा काम गर्न प्रदेश समितिलाई सुझाव दिनुभएको थियो ।