जनता टाइम्स

२४ माघ २०८२, शनिबार २२:५०

प्रेस चाैतारी रामेछापद्वार पुष्पलाल प्रति सम्मान : ‘पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घाेषणा 


रामेछाप, माघ २४ । ‘तीनलाल’को जिल्लाका रूपमा चिनिने रामेछापबाट पुष्पलाल प्रतिकाे सम्मान र राष्ट्रिय पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ । प्रेस चौतारी नेपाल रामेछापले संगठनकाे २८औँ स्थापना दिवस तथा विशेष पत्रकारिता पुरस्कार–२०८२ वितरण समारोहका अवसरमा उक्त पुरस्कार घोषणा गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार दीर्घकालीन अक्षयकोषका रूपमा सञ्चालन गरिनेछ । पुरस्कारका लागि नेकपा (एमाले)का नेता एवं समाजसेवी रत्नप्रसाद गौतमले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले वार्षिक १ लाख रुपैयाँका दरले पाँच वर्षमा कुल ५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको प्रेस चौतारी नेपाल रामेछापले जनाएको छ ।

कार्यक्रममा प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकले पुरस्कार स्थापनाको औपचारिक घोषणा गर्नुभएको थियो । उहाँले पुष्पलालको विचार, त्याग र राजनीतिक दृष्टिकोणलाई पत्रकारितामार्फत समाजमा जीवित राख्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रेस चौतारी रामेछापका अध्यक्ष लेखबहादुर विकका अनुसार, उक्त ५ लाख रुपैयाँ अक्षयकोषमा राखिनेछ र त्यसबाट प्राप्त हुने ब्याज रकमबाट हरेक वर्ष देशभरबाट सक्रिय एक जना पत्रकारलाई २० हजार रुपैयाँसहित सम्मान गरिनेछ । ‘पत्रकारितामा अध्ययनशीलता, प्रतिबद्धता र सामाजिक उत्तरदायित्वलाई प्रोत्साहित गर्न यो पुरस्कार स्थापना गरिएको हो,’ अध्यक्ष विकले बताउनुभयो ।

रामेछाप जिल्ला ऐतिहासिक रूपमा ‘तीनलाल’को जिल्ला भनेर चिनिन्छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी तथा महान सहिद गंगालाल श्रेष्ठको जन्मभूमि यही जिल्ला हो । यिनै ऐतिहासिक व्यक्तित्वहरूको योगदानलाई पत्रकारितामार्फत नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले पुरस्कार स्थापना गरिएको जनाइएको छ ।

स्थानीय तहबाट सुरु गरिएको यो पहलले राष्ट्रियस्तरका पत्रकारलाई सम्मान गर्ने संरचना तयार पारेको भन्दै कार्यक्रममा सहभागीहरूले स्वागत गरेका थिए । आयोजकका अनुसार, पुरस्कारको कार्यविधि तयार गरी आगामी वर्षदेखि नियमित रूपमा वितरण गरिनेछ ।

रामेछापबाट सुरु भएको यो अभियानले पत्रकारितामा मूल्य–आधारित अभ्यास, ऐतिहासिक चेतना र सामाजिक जिम्मेवारीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।