काठमाडौं, माघ २४। नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेस विगतका उपलब्धि बोकेर तथा कमजोरी स्वीकार गर्दै अघि बढेको बताउनुभएको छ। गोकर्णश्वरमा सर्लाहीका मतदातासँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कांग्रेसले गरेका राम्रा कामलाई निरन्तरता दिँदै त्रुटिहरू सच्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले विगतमा भएका त्रुटीमा कसैलाई दाेष दिएर उम्कन नमिल्ने बताउनुभयाे । ‘हिजो जे जति खराब काम भए, त्यसका लागि म कसैलाई दोष दिन्नँ< म पनि त्यहीँ भित्र थिएँ,’ थापाले भन्नुभयो, ‘कुनै व्यक्ति वा पात्रलाई दोष दिएर मात्र समस्या समाधान हुँदैन, हामी एउटै समाजका सदस्य हौँ, एकले अर्कालाई दोष लगाएर अघि बढ्न सकिँदैन।’
उहाँले चुनाव लोकतान्त्रिक प्रक्रियाको एउटा चरण मात्र भएको उल्लेख गर्दै त्यसपछि पनि देशलाई स्थिर र शान्तिपूर्ण ढंगले अघि बढाउनु सबैको दायित्व भएको बताउनुभयो। ‘चुनावपछि फेरि कतै आगो लाग्नु हुँदैन, चुनावपछि फेरि बनाएको सिंहदरबार वा संसद भवन जल्नु हुँदैन, सरकारको गोलीबाट कुनै युवा मारिनु हुँदैन, सडकमा रिस र आक्रोश पोख्ने अवस्था बन्न दिनुहुँदैन।’
थापाले राजनीति प्रतिस्पर्धाको माध्यम भए पनि त्यसलाई घृणा र उत्तेजनाको आधारमा चलाउन नहुने धारणा राख्नुभयो। उहाँका अनुसार चुनावपछि पनि सबै पक्षलाई साथमा लिएर अघि बढ्ने साहस कांग्रेससँग छ। ‘रिस र उत्तेजनाले मात्र देश चल्दैन, घृणाले समाधान आउँदैन,’ उहाँले भन्नुभयो, ‘सबैलाई मिलाएर लैजाने जिम्मेवारी हामीले लिनुपर्छ।’













प्रतिक्रिया दिनुहोस्