जनता टाइम्स

२५ माघ २०८२, आईतवार ११:१५

कंशपथमा रवि-बालेन-गगन त्रिकोणको लिगलिगे दौड


एमाले र नेपाली जनताको समन्ध पानी र माछाको जस्तो छ । न एमालेले जनताको उपासना छोडेको छ न त संकटको बेला जनताले नै एमालेलाई एक्लो र अलपत्र छोडेको राजनीतिक नजीर छ । जागेका जनतासँग जिस्किनु सुतिरहेको सिंह माथि मृगको उफ्राइ हो । कंशपथका हिमायती र हर्कत हेरेर थुक निल्नेलाई एमालेमा स्थान छैन । ओछो राजनीति नेपाल भूमिको सुबास होइन ।

अराजकता र दण्डनीति
एउटा बालकले कुचोमा पिसाब फेर्यो । आमा–बाबु हाँसे । अर्काे बच्चाले भिजेको कुचो उठाएर पिसाबका छिटा घरभरि छर्कियो । आमा–बाबुले स्याबास भने । तेश्रो बच्चाले त्यही कुचोले आमा–बाबु दुबैका गालामा झ्यामका झ्याम हान्यो । आमा–बाबुलाई नमजा लाग्यो । बच्चाहरुको हकर्त चित्तनबुझे पनि उनीहरुबाट गतिलो प्रतिक्रिया आएन । तिनका खराब छिमेकीले रमिता हेरे । उनीहरुले हर्ष मनाए । उनीहरुले ती बच्चाहरुलाई हौस्याइरहे । उनीहरुले भनिरहे– “हो हो ठीक गरेऊ ! यस्तै गर्नु पर्छ ।”

सुशीला सरकारको गठन पछि रवि र बालेनले पाएको स्वेच्छाचारी छुटपूर्जी खतरनाक छ । यो खराब राजनीतिको गगन थापाले गरेको देखासिकी झन् भयानक छ । यसमाथि कार्यबाहीमा उत्रिनु पर्ने जनसमुदायले गरेको समन र बाहिरबाट आएको उक्साहट सोचनीय छ । यस्तो खराब राजनीतिलाई सशक्त प्रतिकारको गरुरी छ । यस्तो खराब राजनीतिको मैझारो लगाउनु पर्ने बेला नेपाली कांग्रेस आफै रवि–बालेन प्रवृत्तिको शिकार बनेको छ ।

कांग्रेसभित्रका दुई बलिया खेमा– ‘देउबाधार’ र ‘कोइरालाधार’को ढाडमा टेकेर टाउकोमा हान्ने गगन थापा र अर्जुन नरसिंह के सी शसुरा–ज्वाँइँको खनापिन पार्टीमा विश्वप्रकाश शर्माको सामेलीले कांग्रेस हाज्याकमा परेको छ । बाउ उग्रेसेनलाई जेलमा हालेर उहिले कंश राजा भएका थिए । कांग्रेसको आधिकारिकता विवादले इतिहासमा पहिलो पटक निर्वाचन आयोग र अदालतको बेन्चमा पुगेको छ । आफै महादेव उत्तानो टाङ के को दलान् वरदानको हाततमा सबै संवैधानिक अंगहरु पुगेका छन् । अग्रजको अपमान गरेर शक्ति हत्याउने कंशपथमा नेपालको राजनीतिक रथ गुड्ने खतरा बडेको छ । कंशपथमा सर्वश्रेष्ठ साबित हुन रवि, बालेन र गगनबीच लिगलिगे दौड सुरु भएको छ ।

पञ्चायत पलाए पञ्च भैहाल्ने र कांगे्रस पलाए कांग्रेस भैहाल्ने शसुरा बा अर्जुननरसिंह केसीलाई पछ्याउदै आएका गगन थापालाई गएका दुई दशकमा कांग्रेसले माथिको मिथकमा कुचोमा पिसाब फेर्ने बालकझैँ पुल्पुल्याइ रह्यो । कागको फुल चोर्ने बाउ र त्यति बाठो बाउको बगली मार्ने छोराको मिथक केसी–थापा ससुरा संस्करणमा सत्य भएर आएको भाग्यले साथ दिँदासम्म सोझा कांग्रेसजनले थाहपत्तो पाएनन् । विगत तीन दशकमा केसी–थापा शसुरा ज्वाईंँले कोइराला, देउबा, सिटौला सबै गुटका जुठो सोहोरेर शक्ति संचय गरे । जाल फिजाइरहेका ससुराज्वाईंको भागमा यस पटक राष्ट्रिय राजनीतिको धमिलोले ठूलो माटो थमाएको छ ।

विरासतको राजनीतिका रासन कार्डको भरमा टिकेका कांग्रेस भित्रका राजनीति घरानाको अदूरदर्शिताले उनीहरुलाई मौका दियो । सबै गुटका बगली मार्ने शसुरा–ज्वाईंको राजनीतिले यसपटक नेपाली कांग्रेसको ढुकुटीमै कब्जा हानेर छलाङ मारेको छ । ४० प्रतिशत वारपारको देउवा खेमा र ४० प्रतिशत बराबरको कोइराला खेमालाई चक्मा दिदै २० प्रतिशतले कांग्रेस कब्जा गरेको छ । रवि र बालेनलाई मर्यादाको राजनीतिको परेड खेलाउनु पर्ने ऐतिहासिक कार्यभार फत्ते गर्नुपर्ने बेला कांग्रेस आफै शसुरा–ज्वाईंको अवसरवादी राजनीतिको चक्रब्यूहमा फसेको छ । कांग्रेसमा गएको यो लोडसेडिङको मूल्य लोकतन्त्रका लागि निकै महंगो पर्ने निश्चितछ । संकटको बेला काठको भएपनि साथीको खाँचो पर्छ तर बहुरुपी प्रतिगमनले मुखबाहेको बेला एमाले मात्र मैदानमा सम्पूर्ण शक्तिका साथ उत्रिएको छ ।

ती कोतपर्व र यी रक्तहीन कोतपर्व

गोठालोको दही पोखिन्छ, झिँगाको उत्सव मनाउँछन् । सत्य के हो भने दही मात्र पोखिएको हो, रगत दिएर पालेको लैनो भैँसी मरेको होइन । पृथ्वीनारायण शाह, कालु पाण्डे, विराज बखेती र बिसे नगर्चीको पुस्ताले नेपाल एकीकरण गरे । बहादुर शाह, रणबहादुर हुँदै राजेन्द्र शाहको पालामा आइपुग्दा लोभिपापी झिंगाको उत्सव चरम चुलीमा पुग्यो । अग्रजको अपमान, छलकपट, हत्या र हिंसा खराब राजनीतिको एक हिस्सा बन्यो । आजको जेन्जी पुस्ता उमेरका ३२ वर्षिय जंगबहादुर राणाले ७६ वर्षीय अभिमानसिंह बस्नेतको पुस्तालाई १९०३ सालको कोतपर्वमा सखाप पारे ।

जंगबहादुर राणाका कान्छा भाइ धीर समशेरका १७ जना तरुण भाइ छोराहरु १९४२ सालपर्वमा वयश्क उमेरका जंग खलकको कत्लेआम गरेर शत्रु शुन्य भए । नेकपामा पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसमा गगन थापाको पार्टी प्रमुखको रुपमा इन्ट्री पनि आफ्नो समयका रक्तहीन नै कोतपर्व हुन् । यी सबै घटनाहरुमा मानवता र मानव हुनुको महानता दुबै संकटमा परेको पाइन्छ । जननेता मदन भण्डारी भन्नुहुन्थ्यो– “राजनीति ढाँट ठगको विषय होइन, खुलार स्पष्ट हुनुपर्छ ।’’ अचेल ढाँट ठगको राजनीतिको हावा निकै चलेको छ । रवि लामिछाने र बालेन्द्र शाह संस्करणको धमिलो पानीमा गगन थापालाई जाल फिँजाउन सजिलो भयो । आफ्नो पिता उग्रसेनलाई बन्दी बनाएर कंश आफै राजा भए जस्तै गगन थापाको हतारोको राजनीतिले शेरबहादुर देउबालाई लतारपतार पारेको छ । कंशपथमा ‘भाइ’ गगन थापा सफल हुनु भएको छ ।

कुनै बेला प्रचण्डको चलाकी देखेर सुम्सुम्याएर सिध्याउने कलामा पारंगत मानिने बनका ब्वाँसाहरु छक्क पर्थे । आज रवि र बालेनको मायाजालदेखेर प्रचण्ड समेत मुर्छा पर्ने स्थिति छ । गगनको चलाकी देखेर रवि र बालेनले समेत हात उठाउने स्थिति छ । जस्तो फल रोप्यो उस्तै फल लाग्छ । भाङ छरेर तोरी फल्दैन । प्रचण्डले अग्रजहरुको आदर गरेको नजीर छैन । भूमिगत कालका मोहन बिक्रम सिंह, निर्मल लामा र मोहन वैद्यमाथिको छलछाम र खुला राजनीतिमा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र झलनाथ खनालमाथिको तिक्डम कम्तीको थिएन । रवि, बालेन र गगन त्रिकोणको चकचकी ब्वाँसो र प्रचण्ड जोल्टिए भन्दा पनि बढी अवश्य छ तर नेपाली जातिको चेतनाको अगाडि यो एक मुर्खतापूर्ण वियोगान्त नाटक मात्र हो ।

अग्रज महिमा र जेन्जी उछाल

अग्रजहरु बाँचे पाल्ने मरे फाल्ने प्राणी मानिस मात्र हो । आफ्नो बच्चा अल्पबुद्धिको जनावरले पनि पाल्छ । मानिस मात्र तस्तो गुणग्राही जाति हो आफ्नो मुहानतिर फर्कन्छ । मान्यजनको माने राख्ने एक मात्र प्राणी मानव हो । अग्रजहरुले दिएका ज्ञान, विज्ञान, मनोविज्ञान र संवेगहरुको मियोमा उभिएर संसारका सारा प्राणीमाथि राज गर्ने जाति मानवजाति हो । भेडा, बाख्रा, गोरु, भैसी, घोडा, गधा, खच्चर, गैँडा, हात्ती, स्याल, ब्वाँसो, बाघ र भालु कसैले पनि अग्रज पुस्ताको सेवा गर्दैनन् र मान्यजनप्रति श्रद्धा राख्दैनन् ।

अग्रजको बाँचुन्जेल सेवा र श्रद्धा गर्ने, यतिले नपुगेर मरेपछि श्राद्ध गर्ने सद्गुणले गर्दा नै मानवजाति चराचर जगतमा सर्वश्रेष्ठ प्राणी भएको हो । सीप, श्रम, शासन, अनुशासन, व्यवस्थापन, खोज अनुसन्धान, शिक्षण, प्राध्यापन, अध्ययनर स्वअध्यनमार्फत् जीवन र जगतलाई सुन्दर बनाउने कला मानिसहरुको हरेक पुस्ताले आफ्नो अग्रज पुस्ताबाट पाएको हुन्छ । त्यसैले अग्रजहरु मान्यजन हुन् । मान्यजनको माने राख्ने हुनाले मानव जातिसँग सवथोक छ ।

औजार हुँदै हतियार र यन्त्रसम्म उपभोग, उत्पादन, विनिमय, राजश्व, वित्त शास्त्रसम्मको उपयोग र हस्तान्तरणमा मानवहरुका परबाजेदेखि पनातिसम्मका चार पुस्ताको सहकार्य रहेको हुन्छ । सबै पुस्ताको सकारात्मक सहकार्यमा चलेको घर, समाज, राष्ट्र–राज्य सुखी, शान्त, उद्यमशील र समुन्नत हुन्छ । अग्रजबाट पाएको शिप, ज्ञान, सफलता, प्रेरणालाई व्यक्ति पिछ्छेका अलग अलग बुझाइ हुन्छन् । कसैले भगवानको कृपा, कसैले आफ्नो मेहनत, कसैले संयोग भनेर विषयान्तर गर्छन् ।

मानवीय पहलको केन्द्रमा अग्रज पुस्ता नै रहने हुनाले अग्रजलाई आदर गर्ने संस्कार बसेको हो । हाँसी कुरो गर्नु निहुरी ढोग गर्नु हाम्रो सभ्यताको आत्माहो ।हाँसी कुरो गर्नु निहुरी ढोग गर्नु हाम्रो सभ्यताको आत्मा हो । ‘माता र पिता, गुरुको उपदेश मान्नू, विष्णु, लक्ष्मी र शिवजी यिनलाई ठान्नू’को मानव संस्कार र निष्ठालाई अचेल अराजकतावादीले दासता, चाकडी, झोले भनेर उडाइरहेका छन् । समय खराव चलेको छ अचेल । प्रचण्डलाई चकित पार्ने गरी रवि, बालेन र गगन त्रिकोणलाई चलाकी, समय र भाग्यले साथ दिएको छ । निष्ठाको दही पोखिएको छ, अराजकतावादी झिंगाहरुको उत्सब चलेको छ, तर यो इतिहासको अन्त्य होइन, सुरुवात हो ।

त्यो ग्रिनल्याण्ड र यो भर्जिनल्याण्ड

बाल्मिकी, ब्यास, बुद्ध, चाणक्य र मदन भण्डारी जस्ता कवि र दार्शनिकहरुले यो भूखण्डलाई यस्तै उन्नत चेतले सिञ्चित गरेका छन् । कुनै पनि खालका आस, त्रास, भ्रमजाल, निन्दा र प्रशंसाका पुलिन्दाहरु एमालेको चेतनाको राडार भन्दा बाहिर छैनन् । ढाँट ठगको राजनीति अरुलाई अचम्म लाग्छ, प्रिय लाग्छ तर एमालेको निम्ति पैतालाको धुलो समान छन् । हस्तक्षेपलाई घरेलु राजनीतिको जलप लगाइएको छ । छद्म सैन्य कु र आतंककारी साँठगाँठलाई जेन्जी विद्रोहको रेशमी रुमालले छोपिएको छ । यस पटकको प्रतिगमनमा राजा छैनन् तर राजावादी छन् ।

शहरिया अनुदार वर्ग छैनन् तर तिनका आवारा सन्तानहरु छन् । केही समय एमालेविरुद्ध कांग्रेसको ओत लागेको शहरिया अनुदार वर्ग र आवारा सन्तानको खास प्रतिनिधिका रुपमा गगन थापा, रवि लामिछाने र बालेन्द्र साह तेलीको त्रिकोण बनेको छ । एक मुर्ख अति महत्वाकांक्षीको पतन सेनापति काण्डको बेला सेनाको एक महारथिसँग मिसिएर भएको थियो । चेलामुर्ख अति अति महत्वाकांक्षीहरुको पतन सिंगो सेनासँग मिसिदैमा रोकिनेवाला छैन । जेन्जी नानीहरुको मानव ढाल बनाइएको पछिल्लो फरिप आफ्नो समयको हिरण्य कश्यपको पहेली हो, जसको सामना गर्ने सामथ्र्य र चेतना जागेका जनतासँग छ ।

नेपाल ग्रिनल्याण्ड होइन, यो त भर्जिनल्याण्ड हो । वाल्मिकी, व्यास, बुद्ध, चाणक्य र मदन भण्डारी यी पाँचै जना महामानवको चेतनाबाट प्रेरित र जागृत जाति नेपाली हो । भारतले ‘कुरुक्षेत्र’ र चीनले ‘ग्रेटवाल’ जस्ता महायुद्धका खत बोकेका बेला गौतम बुद्धले अहिंसा र पंचशीलको मियोमा मानव जातिलाई उभ्याए । नेपालको हिमालयका काखमा रहेर ऋषिमुनीहरुले ज्ञान र विवेकको गंगा सृजना गरे । अन्य जाति ओढारमै रहेको बेला यही भूमिबाट भाषाको विकास, लिपी, पाकशास्त्र, औषधी विज्ञानको यजुर्वेद, ग्रह र अन्तरिक्षको अध्ययन, ज्यातिष शास्त्र, खगोल शास्त्र, योग, संगीत र साहित्य रचना यही पावन भूमिबाट रचिए र परिष्कृत भए । जापानले महाचीन र बेलायतले महाभारतलाई दख्खल पार्दा पनि नेपाली जातिको चेतना, हिम्मत र एकता पराजित भएन ।

वाल्मिकी, व्यास, बुद्ध साहित्य र राष्ट्ररक्षा समन्धी चाणक्य नीतिको गहिरो छाप परेको नेपाली समाजलाई माक्र्स, महात्मा गान्धी, मन्टेस्क्यु र माओत्सेतुङ विचारलाई एकैसाथ समेट्ने मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवादले सही मार्ग प्रदर्शन गर्दै आएको छ । श्रमको सम्मान, उत्पादक शक्तिको पक्षधरता र द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण माक्र्सवादवाट, शान्तिपूर्ण जनआन्दोलनको शक्तिको प्रयोग गान्धीवादबाट, शक्ति पृथकीकरणको सिद्धान्त मन्टेस्क्यूबाट, अग्रगामी रुपान्तरणमा किसानहरुको सहभागिता माओ विचारधाराबाट सन्दर्भ सामग्री बनाएर प्रतिपादन गरिएकाले जबज नै नवीनतम विचार हो ।

नेकपा (एमाले) कोरा र सरदर कम्युनिष्ट पार्टी होइन, नेपालको मौलिकता र गरिमा बोकेको नेपाल कम्युनिष्ट पार्टी हो । कम्युनिष्ट पार्टी मात्र भन्दा एमाले पुरै समेटिदैन । नेपाल कम्युनिष्ट पार्टी भन्दा मात्र एमाले सम्पूर्ण अर्थलाई न्याय पुग्छ । दरबार, दिल्ली र दैवको भुलभुलैयामा रहेको राजनीतिलाई जनता र जनसर्वाेच्चताको मियोमा उभ्याएको हुनाले जनताको बहुदलीय जनवादको विरुद्धमा विचारविहीन राजनीतिको सुनामी खडा गरिएको छ । युगदेखि युगसम्मको ढाँटढगकोे राजनीतिका खलीहरुको करंङ धुल्याउनू एमालेको बानी परेको छ ।

बीपीको दुईतिहाइ जनादेशको सरकार सेनाको आडमा हाइज्याक गरेका राजा महेन्द्रको २०२८ सालमा मृत्यु भयो । सोझा राजा वीरेन्द्रलाई भजाएर कुलीनवर्गका पंच र मण्डलेहरुको ढाँटठगको राजनीतिले सीमा नाघेको बेला एमालेको उदय भयो । उत्कर्षकालका पंच, कांग्रेस र माओवादीका हान्ने राँगाको जस्तो विगत र हरुवा गोरुको वर्तमान दुबै देखेको महाशक्ति एमालेको लागि रवि, बालेन र गगन त्रिकोणको चार दिनको चाँदनी मात्र हो ।

रामको कि हरामको बाटो ?

धैर्य रविवेकको बाटो रामको हो । बदमासी र हतारोको बाटो कंशको अर्थात् हरामको बाटो हो । आधुनिक राष्ट्र–राज्यहरुका लागि रामको बाटो संजीवनी बुटी हो । महाशक्ति अमेरिकाको बलियो जग बसाल्ने जर्ज वासिंटनले हिडेको बाटो पनि रामको जस्तै थियो । साथी र जनताले राजा हुन गरेको आग्रह अनुरोध ठाडै अस्वीकार गर्ने जर्ज वासिंटनको त्यागको पोषण पाएर अमेरिका गणतान्त्रिक लोकतन्त्रको नमूना राष्ट्रका रुपमा उदायो । त्यागका प्रतिमूर्ति महात्मा गान्धी पदमा लिसोझै नटाँसिएकाले भारतीय लोकतन्त्रले उन्नत लोकतन्त्रको स्तर कायम गरेको छ । बीपीको महत्ता देशभरका प्रतिभाहरुको संघमका रुपमा नेपाली कांग्रेसलाई जगैदेखि बनाउनुमा छ । कृष्णप्रसाद भट्टराईको सादगी र पाएको प्रधानमन्त्रीको पद अरुलाई दिने गणेशमानको त्याग आफ्नो समयको रामको बाटो हो ।

गिरिजाप्रसाद कोइराला र सुशील कोइराला महत्ता दाजु बीपीको विरासत रक्षाको लागि आधुनिक लक्ष्मण बन्न सक्नुमा रह्यो । देशको निम्ति सिंगो जीवन खर्चिएका नेपाली कांग्रेसका शीर्ष नेतात्रय गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको हाराहारीमा युवा अवस्थाका जननेता मदन भण्डारीले उचाई लिनुमा रवि, बालेन र गगन त्रिकोणको जस्तो कंशपथथिएन, आफु मेटाएर अरुलाई हेर्ने रामको बाटो थियो । वयोवृध कांग्रेसी र वामपन्थी नेताको सदनमा सहज उपस्थितिका लागि घन्किएको कण्ठ मदन भण्डारीको थियो । उत्कर्षकालको कांग्रेसको घमण्ड र उन्मादले गर्दा दुई ठूला लोकतान्त्रिक शक्तिको सम्पूर्ण तागत सहितको चव्रmब्युहमा शिशु लोकतन्त्र पसेको थियो ।

दुई कम्युनिष्ट तीनचिराको बदनाम झेलिरहेको वामपन्थीहरुको घानमा मदनले एमालेलाई त्याग, न्याय र दूरदृष्टिको पोषण दिएकाले भित्रबाट र बाहिरबाट एमाले सिध्याउने जति प्रपञ्च रचिए पनि सफल हुन सकेका छैनन् । मानन्धर, अमात्य, बर्मा आदिजातैपिछ््छेका बामघटकको लहर चलेको युगमा तत्कालीन माले जस्तो उदीयमान पार्टीको वरिष्ठतम नेताबाट दुई नम्बर वरियतामा रहेर मनमोहन अधिकारीका लागि मदनले गरेको त्याग एमालेले पाएको संजीवनी थियो । गल्दो शरीर, ढल्दो उमेर, कमजोर संगठन मनमोहनलाई साँच्चै गाह््रो थियो । प्रचण्ड, माधव र झलनाथ समेत भएर ओलीको उठिबासको प्रयास भए जस्तै सीपी, झलनाथ, माधव समेत भएर एकतासँगै उठिबासको खतरा नभएको होइन । मदनले यो सबै जोखिम मोलेर मनमोहनलाई सहमत नगरेको भए मुलुकले ठेला उठेको हातलाई राहत दिने प्रधानमन्त्री पाउने थिएन ।

नेपालको राज्यसत्तालाई सामाजिक न्यायको सेवा प्रदायक बनाउन सकिने थिएन । अहिले बुढापाका जति खराब भन्ने भाष्य खडा गरिएको छ । हुनेले खाने र नहुनेले मर्ने दैव लिला हो भन्दै राज्य पन्छने युगको अन्त गरेर सामाजिक सुरक्षाभत्ता र जनजीविकाको राजनीतिको स्थापना वयोवृद्ध मनमोहन अधिकारी प्रधानमन्त्री नभएको भए संभवथिएन । पाको उमेर र परिपक्व राजनेताहरु मनमोहन अधिकारी र केपी ओलीलाई काँध थापेर एमालेले बिगार गरेको छैन बरु देश जनताको भागमा सौभाग्यै सौभाग्य थमाएको छ ।

रवि, गगन र बालेन वृद्धनिन्दा र अग्रजको अपमानको कंशपथमा कुदिरहेको बेला एमालेमा विष्णु पौडेल, शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङले दिएको रामको बाटो असल गुरुका असल चेलाको दृष्टान्त हो । हिजो अर्काे घटकको नेता मनमोहनलाई मदनले गरेको सम्मान र आज आफ्नो वयोवृध नेता ओलीकाप्रतिको विष्णु–शंकर र पिएसको अखण्ड निष्ठालाई इतिहासले बिर्सने छैन । जननेता मदन भण्डारी भन्नुहुन्थ्यो– “इमान्दार त्यही हो, जो बेइमान गर्ने ठाउँमा पुगेर पनि बेइमान गर्दैन ।” त्याग खरिदबिक्रिको बस्तु होइन । निष्ठाको कुनै मूल्यहुदैन । बेइमान गर्नेसँग मिसिएर रवि, बालेन र गगन त्रिकोण समेत मुर्छा पर्ने गरी कंशपथको ढोकाखुलै रहेको बेला पौडेल र पोखरेलको सुझबुझ जनताको राजनीतिको एक कोसेढुंगा हो ।

राजनीति खलनायक उत्पादन गर्ने कारखाना होइन । खतराको घण्टी नराम्रो बजिरहेको बेला अराजकताको आँधी सामु एमाले हिमालयझै खडा छ । धार विरुद्धको यही अडानले एमालेलाई महाशक्तिका रुपमा उभिन सघाऊ पुर्याएको छ । युगदेखि युगसम्म मातृभूमिलाई चाहिएको महानायक उत्पादन गर्ने कारखाना एमाले बन्नुको राज भीडबाट लतारिने होइन भीडलाई सत्यको मार्गमा डोर्याउने एमालेको बानी हो ।

हिरोको इन्ट्री ढिलो हुन्छ । रावणले सीताजीको हरण गर्दा राम–लक्ष्मणको हालत नाजुक थियो । राजाको पद छ तर राज्य छैन । बिबाह भएको छ तर श्रीमती अर्कैले अपहरण गरेको छ । एक नारीको दुई वटा महाबली संरक्षक छन् तर हातमा लाजमर्दाे असफलता छ । जेन्जी विद्रोहको जाल बिछाएर एमालेका विरोधीहरुले एमालेको हालत पनि त्यस्तै पारेका छन् । उनीहरुले मूलतः एमालेको चिसोचुलो केन्द्रीत राजनीतिको विरुद्धमा चक्रब्यूह रचेका छन् । महाशक्ति, राष्ट्रपति, सेनापति, न्यायमूर्ति, माओवादी, राप्रपा, रास्वपा, कांग्रेसको हिस्सा समेत जनताको राजनीतिको विरुद्धमा यो वात्यो प्रकारले उभिदा एमालेलाई राम बनबासको हालतमा पारिएको छ । रामको एक बाणले विश्व दादा रावणको अन्त्य भए जस्तै जागेका जनताको मतले हरामहरुको एकचिहान पार्ने छ । चलाकीले चार दिन चल्छ तर इमानले युग जितिन्छ ।

नरसिंह अवतार किन लिनु परेको थियो भन्ने लक्ष्मीको प्रश्नको उत्तरमा विष्णुको जवाफ छ, “हे महादेवी ! जो व्यक्ति आफुलाई निकै चलाख ठान्छ, समयले उसलाई जतिको मुर्ख कसैलाई सिद्द गर्दैन । हिरण्य कश्यप पनि आफु जति बाठो कसैलाई ठान्दैन थियो । आकाश, जमिन कतै पनि आफू नमारिने उसको विश्वास थियो । न नरले न सिंहले आफ्नो बिगार गर्न नसक्नेमा ऊ ढुक्क थियो । न घरभित्र मरुँ न घर बाहिर, न दिनमा न रातमा मरुँ भनेर उसले बह्माजीबाट बरदान पाएको थियो । मैले नरसिंह रुप धारण गरेर, घरको ढोकानेर घुँडामा राखेर साँझको समयमउसको काम तमाम पारेँ ।”

एमाले : एक अर्काे हिमालय

हावा चल्दैमा हल्लिने काम झारपात को हो । बताससँगै बत्तिने काम पातपतिंगरको हो । हुरीसँगै हुत्तिने काम निर्बल नर्कटहरुको हो । आँधीले जता खन्यायो त्यतै थुप्रिने काम सुका स्याउलाको हो । उल्टो चक्रपातले उछिट्याउँदैमा उछिट्टिने औकात पात पतिंगरको हो । रुख वृक्षलाई उखेल्ने र सोत्तर पार्ने औकात तुपानको हो । कमसल र औसत बलिया सबैलाई धोबी चुटाईका साथ चुट्ने औकात हुरीको हो तर हुरीलाई नै धोबी चुटाइका साथ चुटेर ठीक पार्ने औकात हिमालयको हो । सबैलाई परेड खेलाउने काम आँधीको हो । आँधीलाई परेड खेलाएर ओम शान्ति गराउने कामहिमालयको हो । हल्लिने, हेपिने, डराएर पर सर्ने, पाखा लाग्ने, डगमगाउने, दिशा, गति र चालबदल्ने काम हिमालयको होइन । हिमालयको असली औकात अटल भएर उभिने हो । कहिलै नझुक्ने, नलत्रने, नआत्तिने र नमात्तिने अनन्त ज्ञानगंगा वर्षाइरहने हाम्रो हिमालय एक महागुरु हो । नेपाली राजनीतिमा नेकपा (एमाले) एक अर्काे हिमालयहो । एमालेकाप्रति जनसमुदाय र विश्व समुदायले गरेको सामाजिक अडिट यही हो ।

अब जाऔं एमालेको अखण्ड शक्तिको श्रोततिर । यथास्थितिको विरुद्धमा युगान्तकारी ठूल्ठूला परिवर्तनको अगुवाई गर्ने र युगरथको पछि धकल्ने प्रतिगामी हर्कतलाई जनदण्डको भागेदार गराउने नेतृत्व कौशलताले एमालेलाई हिमालय जस्तै उठाएको छ । युगदेखि युगसम्म जागेका जनताको मति, गति र सरस्वतिसँगै हेलिने बानीर समयसँग सान्दर्भिक हुने कलाले गर्दा एमाले हिमालय जस्तै अटल छ, असल छ, स्वच्छ र सबल छ । यो भीडबाट डोरिने पार्टी होइन, भिडलाई सत्य र सर्वहिततिर डोर्याउने महानायक शक्ति हो । मातृभूमि नेपाल र विश्वगुरु जाति नेपालीको असलीऔ कातको यसले प्रतिनिधित्व गर्छ र अगुवाई गर्छ । लक्ष्यमा अडिग रहने, कसैका पनि आस, त्रास, भ्रम, जाल, निन्दा र प्रसंशा प्रभावित नहुने, जनता वृहत्तर हितका लागि बलीको वेदीमा चढ्न हरदम तयार रहने एमालेको दैनिकीहो । एमाले लहड, रहर, शानर सौकतको खिलापमाछ । खासमा एमाले आफैमा एक साधना र तप हो ।

नेता शब्द संस्कृतको नेती शब्दबाट बनेको हो । नेती, नेता, नेतृत्व, नीति जस्ता शब्दहरु नीत् धातुबाट बनेका छन् जसको अर्थ हुन्छ– ‘डोर्याउनु’ । मोहीपार्नु छ भने ठेकी, दही, मदानी सहायक कुरा हुन् मूल कुरा नेतीचलाएर कामफत्ते गर्नु हो अर्थात् मथ्नु हो । एमाले नेपाली राजनीतिको नेती हो । जागेका जनताका असल सन्तानहरुको गुँड हो । यसले जनताको आवाज बोल्छ । जनताको लागि सोच्छ । जनताको लागि टाढा हेर्छ । यो भोजभतेर होइन । हरपल, हर घडी यसले त्याग र बलिदानका लागि आफूलाई तयार राख्छ । राजनीति सातुदेखि सत्तासम्मको साझेदारी हो । रहर लाग्दा व्यक्तिगत जीवनमाथि डोजर लगाएर सामुहिकताको सांगठानिक जीवन एमालेको गौरवशाली पहिचान हो । समय प्रतिकूल बग्न सक्छ । राजनीतिमा आरोह र अवरोह, घाम छाया अवश्य हुन्छ । भगवानले पानी पनि सुकाइदिन सक्छन्, दुध पनि सुकाइदिन सक्छन् तर दुध र पानी छुट्याउने राजहंशको क्षमता भगवानले पनि छिन्न सक्तैनन् । प्रतिकूल भन्दा प्रतिकूल समयले पनि एमालेलाई नेपाली जनताको गोदबाट छिन्न सकेको छैन ।

राजालाई तह लगाउने जंग खलक आफै शमशेर खलकको षडयन्त्रको शिकार भयो । १६ भाइ समशेरहरुको रजगजले भरिएको राणा शासनलाई जनताको चेतनाको हुरीले उखेल्यो । जनताको जागरणले राजतन्त्रलाई उखेल्यो । मकै पिन्दा घुन पिसिएझै राजासँगै कांग्रेस, एमाले र नेपाल सेना सिध्याउने प्रचण्डको इरादा थियो । अझ भनौं प्रचण्ड र बाबुरामलाई नोयडामा जागा दिने, हुर्काउने, बढाउने र चलाउने महाशक्तिको बुझाईमा एमालेलाई कम आँकिएको थियो । एमालेले उल्टै प्रचण्डको अति महत्वाकांक्षालाई उल्टै एकादेशको कथा बनाइ दियो ।

जनताको युग

खेलको दिशा बदल्ने उत्कृष्ट खेलाडीले जस्तै एमालेले नेपालको राजनीतिको दिशा बदल्दै आएको सिलसिला छ । दरबार, दिल्ली र दैवको नाममा जनतामाथि दमन, उत्पीडन, दोहन र शोषणका जरा उखेल्ने जनकार्य एमालेको अगुवाईमा भए । दैवको लीला र भगवानको खेललाई जागेका जनता र मानवीय पहलको राडारमा ल्याउने महाशक्ति एमाले हो । मनमोहन अधिकारीको नेतृत्वमा एमालेको सरकार बन्नु अघिसम्म राज्यको ढुकुटी ठूलाबडाको शान सौकत प्रदर्शनका लागि हो भन्ने बाक्लै भ्रमथियो ।

राजा र प्रधानमन्त्रीले हेलिकप्टर चढ्नु, मन्त्री, सांसदर स्थानीय निकाय प्रमुखले गाडी र घोडामा सवार चलाउनुलाई नै राजनीति मानिन्थ्यो । शान र सौकतको प्रदर्शनलाई राजनीतिको देखिने रुपमा निन्थ्यो । राज्यको ढुकुटी चिसो चुलोसम्म तन्काउने एमाले थियो । राज्यले दिन सक्ने राहत र ठेला उठेका हातलाई जोड्ने एमाले हो । जनताकाअसल सन्तानले मात्र जनतालाई हेर्छन् भन्ने कीर्तिमान एमालेकै नाममा सुरक्षित छ । गरिब वर्गको जन्म धनीमानीका हली गोठाला बन्न मात्र भएको होइन, उनीहरुको जागरण, हस्तेक्षप, एकता, नेतृत्व विकास र शासकीय सुझबुझ नै राष्ट्र हो र राष्ट्रिय राजनीति हो भनेर व्यवहारमा उतार्ने एमाले हो ।

विद्रोही, विपक्ष हुँदै शासकीय सुझबुझ सम्मका एक अब्बल राजनीतिक दलले पार गर्नुपर्ने विकासका चरणहरु एमाले पार गरेको छ । जनताका बलबुत्ताको विद्रोही, सशक्त, रचनात्मक र जिम्मेवार प्रतिपक्ष, मुर्छित सपना ब्युँझाएर आँट र आशावादिता प्रदान गर्ने शासकीय सुझबुझको पर्यायको उचाइ एमालेले मात्र लिन सक्यो । गरिबलाई उठ्नै नदिने अतिवाद र कुशल व्यवस्थापकहरु, उद्यमी ब्यवसायीहरुलाई टिक्नै नदिने अतिवाद दुबै अतिवादलाई एकैसाथ तह लगाएर देश सबैको साझा हो भन्ने सत्यको मियोमा एमालेले गएको दशकमा नेपाललाई उभ्याएको छ ।

जातीय विद्वष, क्षत्रीय संवेदना, वैचारिक मतभेदलाई भण्डकाएर उछालेर नेपालको राष्ट्रिय एकताका तन्तुहरुलाई कमजोर पार्ने तत्वहरुलाई एमालेले दपेट्तै र थचार्दै आएको छ । सबैका लागि बस्न लायक देश बनाउने महानायक एमाले हो । यहाँ कसैले पनि दमित र कुण्ठित रहनुपर्ने छैन । एमालेले आमजनतालाई दिलाएको विश्वास यहीहो । देशको सार्वभौमिकता सबैको बराबरी हो भन्दै नेपाललाई स्वाभिमानको बलियो मेरुदण्ड एमालेले नै दियो । अविकास र सपना शून्यतामा पूर्णविराम लगाउँदै विकास र समृद्धिको अभियान एमालेले नै छेड्यो ।

बैगुनी कठपुतली

चीजजति असल हुन्छ, त्यति नै जोखिममा पर्छ । अन्य मृगले जस्तै फोहर छर्पस्ट नछोडी खुरले खाल्डो पारेर जुतो पुर्नु र नाभीमा बासनादार बिना हुनु कस्तुरीको कमजोरी होइन । कस्तुरीको यही सद्गुणलाई ब्याधाहरुले व्यवसाय बनाउँछन् । गुणग्राहिताको घाँटी रेटेर मात्र एमालेलाई सिध्याउन सकिन्छ भन्ने विरोधीहरुलाई थाहछ । शहरिया अनुदार वर्ग, तिनका आवारा सन्तानहरु अग्रमोर्चामा छन् । गरिव र गरिखाने वर्ग, बेरोजगार युवाहरुलाई कठपुतलीझै नचाइदै छ । अनादर, अनुशासतहीनता र अराजकताको जाँतोमाउनीहरुलाई जोतिएको छ । सबै खराब हुन्को धून बजाएर नचाइएको छ । जातीय, क्षेत्रियता, लैङ्गिक, भाषा र धर्मको संवेदना उछाल्ने प्रपञ्चबेकम्मा भएपछि पुस्ता युद्ध छेडिएको छ । कलिला जेन्जीनानीको दिमाग भुटेर अराजकताको अगेनोमा मुर्ख अति महत्वाकांक्षीहरु आफ्नो लागि रोटी सेक्तैछन् ।

केही दशकअघि उच्चशिक्षा त धनीमानीको हो, भिसा, वैदेशिक रोजगार, समुन्द्रपार अध्ययन र रोजगार मन्त्री, सांसद र पहुँचवालाको मात्र हो भन्ने मान्यता थियो । एमालेले तीनखम्बे नीति ल्यायो र सहकारी आन्दोलनको अगुवाई गर्यो । फलतः बैदेशिक रोजगार र विदेश अध्ययनमा गरिव वर्गको पनि पहँुचको ढोका खुल्यो । गरिव, असहायको सहाय सहकारीहरु बने । विपन्न विद्यार्थीको शुल्क रोकिएनन् । गरिबका भिसा फ्रिज भएनन् । उल्टै केही बदनाम सहकारी र युवा विदेशतिर भनेर उडाइदै छ । जनवर्गीय संगठनले गर्दा निरंकुश शासनहरु खेदिए । युवा, विद्यार्थी, शिक्षक, कर्मचारी, प्रध्यापक, इन्जिनियर हरेक क्षेत्रमा एमालेको बलियो संगठन छ । फलानो तप्काले राजनीति गर्नु हुँदैन भनेर देशको एकताको तन्तुलाई कमजोर पार्ने काम बिगत केही वर्षदेखि एमाले विरोधीहरुले गर्दै आए ।

आशावादिता र अबिछिन्न उत्तराधिकारलाई संशय खडा गराए । निष्ठा, त्याग, बलिदानको ठाउँमा चपाउदासम्म याद गर्ने, निलेपछि बिर्सिहाल्ने मतलबी कुसंस्कारलाई बढावा दिइदै छ । एमाले लगाएका गुन बिर्सने र एमालेसँग समन्धमा छिना चलाउने लहर चलाइएको छ । हरियो मेलामा बारुद छर्केर बन डढेलो दन्काएझै अराजकतालाई हतियार बनाइएको छ । जे भयो आफै भयो । बिग्रेभत्केको पुरानाले बिगारे । बनाउने क्रममा रहेकोलाई उप्काएर आजसम्म के हेरेर बसे भनेर उडाउने गरिन्छ । यस्तै अवस्थाको कमजोर, गरिव र भू–परिवेष्ठित देशको साह्रोगाह्रोमा टेकेर महाशक्तिहरुले कठपुतली नचाएका छन् । एमालेको रिसले बहुरुपी प्रतिगमन नेपालको थाप्लोमा थोपरिएको छ । अराजकता र आतंक, हस्तक्षेप र प्रतिगमन, अस्वभाविक आवाज र घुसपैठ यसको बनावट र फैलावट हो ।

हिम्मत महिमा

राजनीतिमा चुनौती पाउनु सौभाग्य हो भने चुनौतीको सामना गर्न नसक्नु पतनशीलता । सबै कुरा सकिएपछि चाहिने चीज के हो भन्ने यक्षको प्रश्नमा युधिष्ठिरको उत्तर छ– ‘हिम्मत’ । उहिले प्रचण्ड देख्दा ब्वाँसा मुर्छा पर्थे, अहिले रवि, बालेन र गगन त्रिकोण देखेर प्रचण्ड नै मुर्छा परेको स्थिति छ । एमाले हिम्मतको खारखाना हो । निराश हताश जतिलाई हिम्मतको आपूर्ति र निर्यात गर्नु नै एमालेको पहिचान हो । पंचायती संविधान मान्ने छु र कानुन बमोजिम चल्ने छु भनेर कांग्रेस र वामपन्थी नेताहरु जेलबाट छुट्ने लहर चलेको बेला पंचायतसँग खुकुरी र बन्दुकले पंगालिने एमाले थियो ।

मण्डले कुण्डले छोडेर जनताका छोरीहरुलाई नमिता सुमिता बनाएर बेपत्ता पार्ने लहर चलेको बेला क्याम्पसहरु जनताका छोराछोरीको लागि अनुकूल बनाउने त्यहाँ स्ववियु राज र स्ववियु आन्दोलन चलाउने र देशभर बलियो विद्यार्थी आन्दोलनको आँधीबेहरी उठाउने एमाले थियो । विष्णु र सिस्नुको धामस दिने राजा र राजावादी, कम्युनिष्टलाई दुई दिनका पाउना ठान्ने उत्कर्षकालको नेपाली कांग्रेस, कि मिल्न कि निलिन तयार हुन धामस दिने उत्कर्षकालका प्रचण्डलाई किनारा लगाउने र गतिलै सबक सिकाउने एमाले नै हो । प्रचण्ड र माओवादीको उन्मादपछि रवि र बालेनको अट्टाहस् र ऐठन एमालेले पाएको एक सुन्दर अवसर हो ।

भय आएको बेला बीरको परीक्षा हुन्छ । माओवादी आतंकले एमालेको गतिलै परीक्षा लियो । जसलाई देख्यो त्यसलाई चिर्थोने चिम्पान्जी जनवादमा अभ्यस्त माओवादी २०६२ सालमा शहर पसे । सबैभन्दा उग्र बनेर वाईसीएल आयो । कानुन उसले हातमा लियो । वार्ताको टेबलमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद सिटौलाका कान भरेर सरकार र सात दललाई सक्कली एमालेविरुद्ध उतार्ने प्रचण्ड, पंगु बनेको राज्यको दोहन गर्दै जनतालाई त्रास दिने वाईसीएल उद्दण्ड ! निजी सरकारी सबै प्रकारका अफिसमा हेलमेट र माक्स लगाएर प्रवेश गर्नु, हाकिमको टेबलमा हेलमेट राख्नु, पर्दाले जुत्ता पुछ्नु, खातिरदारीमा आएका दुई दुई प्लेट मःमः हसुर्नु, फुल ट्यांकी तेलको कुपन कटाउनु, मनलाग्दी चन्दा तोक्नु, नदिए कुट्नु, पिट्नु, मोसो दल्नु, केहीलाई मारेर बचेकालाई जिउँदा लाश बनाएर आफ्नो आतंकको जुवामा नार्नु उत्कर्षकालको वाईसीएलको दैनिकी थियो ।

सुण्डमुसुण्डहरु आफ्नो चिहान खन्दैछन् भन्ने नियति र सत्यबाट बेखबर प्रचण्डको ढलिमली र उन्माद आजका रवि र बालेनको भन्दा पनि हाई गियरमा थियो । बोल्ने बेला कुम हल्लिन अनिवार्य छैन । विज्ञानको यो पुष्ठिलाई भाषण गर्दा मच्चिने प्रचण्डका दुई कुमले चुनौती दिइरहे । प्रचण्डका कुमसामु पिङले समेत हात उठाए । प्रचण्ड र वाईसीएल देखेर सबै काँपे तर एमालेले बहादुरिताका साथ सामना गर्यो । अविवेकीको पतन अनेक प्रकारले हुन्छ । प्रचण्ड पतनका कारणहरु अनेक छन् । तीमध्ये मोटा चार कारण हुन्– (१)उनको अहंकार (२) उनको परिचालित असली सच्याइ (३) जागेका जनता, र (४) एमालकोे सशक्त मौजुदी र सवल नेतृत्व ।

एउटा पहलमानको जम्काभेट भालुसँग भयो । भालुले हत्तपत्त पहलमानलाई पच्कायो । पहलमानले पनि प्रतिवाद गर्यो । भिडन्तमा पहलमानले भालुका बंगारा भाँच्यो र च्यापु नै च्यातिदियो । त्यही पहलमान केही वर्षपछि छिमेकीको घरतिर जादै थियो । कुकुर आएर क्याउँक्याउँ गर्यो । पहलमानले कुकुरलाई पोको पारेर हुत्याउँदै भन्यो– ‘उत्ताको त सिपचलेन, तँ कुत्ताको !’ यसरी उत्ताको त सिपचलेन तँ कुत्ताको उखान बन्यो । प्रचण्डको नसा उत्रिन र उनकाप्रतिको जनमानसमा व्याप्त भ्रम हट्न १८ वर्ष लाग्यो र अकारण १८ हजारको ज्यान गयो । रवि र बालेनकाप्रतिको भ्रम हट्न दुई दिन लाग्यो र ७० जनाको अनाहकमै साहदत भयो । प्रचण्ड र बाबुरामको वितण्डा भन्दा पछिल्लो बितण्डा केही पनि होइन ।

एमाले बाज र ठुँग्ने काग

बाज बलियो र तीक्ष्ण दृश्य शक्ति भएको चरा हो । यो अति उचाईमा हुन्छ, त्यति नै टाढा देख्छ र टाढै सोच्छ । टाढाका गतिविधि बाजको राडारको निगरानीमा हुन्छन् । उचाइँमा पुगेर टाढाको मिसन तय र फत्ते गर्नुपर्ने दबाबमा रहेको बाजलाई कहिलेकाहीँ कागले समस्या खडा गर्छ । बाजलाई काग जस्तो कराउने, पिठ्युँपछि टोक्ने, दुर्बल प्रतिद्वन्द्वीका लागि खेर फाल्ने फुर्सद हुँदैन तर काग भने बाजकै पिठ्युँमा चढेर बाजकै गर्दनमा ठुँग्ने क्रिया रोक्तैन । महाबली बाज न त झस्किन्छ, नत रिसाउँछ, न त पछाडि फर्किन्छ, न त आफ्नो उचाईँ घटाउँछ । बाजको रणनीति केबलउचाई बढाउने हुन्छ । बाजलाई थाह छ, कागसँग लडेर समय खर्च गर्नु भनेको आफ्नो महानतामाथिको धब्बा हो । त्यसैले कागले आफ्ना विशाल पखेटा फिजाउँछ र उचाइँ बढाउँदै लैजान्छ, त्यो उचाइँ जहाँ कागलाई सास फेर्न अक्सिजन पुग्दैन । बिचरा काग जसले वर्षाइरहेको थियो गाली, पालिरहेको थियो भ्रम र गरिरहेको थियो घमण्ड, आफै थाकेर, सासै फेर्न गाह्रो भएर, हारेर आफै भुईमा खस्छ, फेरि उठ्न नसक्नेगरी ।

एमालेको जीवनमा यस्तै अनेक काग अनेक पटक भेटिएका छन् । एमालेलाई ठूग्ने कागहरु पनि कालान्तरमा बाँच्नलाई चाहिने जति जनमतको अक्सिजन नपाएर समयक्रममा गिर्ने गरेका एक होइन अनेक दृष्टान्तहरु छन् । जनमत संग्रहमा पञ्चायतलाई परेको मत, २०६४ सालमा माओवादीलाई परेको मत र २०७९ सालमा रास्वपामा परेको मत नेपाली राजनीतिका राजनीतिक बेरुजूहरु हुन् । यी सबै जनताको काखमा रहेर जनताको साथ लिएर जनतालाई बलियो बनाउने एमालेको तप विरुद्धका हर्कत सिलसिला हुन् । एमालेलाई ठँुग्ने र एमालेको यज्ञ विध्वंश गर्ने युगदेखि युगसम्म साजिस हुँदैआएका छन् ।

परिचालित कठपुतलीहरु र चटकेले नचाएका भालु उस्तै उस्तै हुन् । चटकेको भालु सुरुमा डरलाग्दो, रहरलाग्दो हुन्छ अन्तिममा दयालाग्दो गरी समाजबाट बहिर्गमित हुन्छ । दाँत र नग्रा उखेलिएको भालु केटाकेटी नजरमा डरलाग्दो हुन्छ । ईशारामा नाँच्ने हुनाले रहरलाग्दो हुन्छ । सक्कली जीवन बिताउन नपाएकाले दयालाग्दो हुन्छ । एमाले विरुद्ध उतारिएका भालु पनि समयक्रममा दयालाग्दो हाततमा पुगेर पतन भएका छन् र हुनेछन् । संसारमा कसैले भगवान भेटाएको छैन, सिर्फ एमालेलेबाहेक । एमाले भेटाएका भगवान नेपाली जनता हुन् । एमाले र नेपाली जनताको समन्ध पानी र माछाको जस्तो छ । न एमालेले जनताको उपासना छोडेको छ न त संकटको बेला जनताले नै एमालेलाई एक्लो र अलपत्र छोडेको राजनीतिक नजीर छ । जागेका जनतासँग जिस्किनु सुतिरहेको सिंह माथि मृगको उफ्राइ हो । कंशपथका हिमायती र हर्कत हेरेर थुक निल्नेलाई एमालेमा स्थान छैन । ओछो राजनीति नेपाल भूमिको सुबास होइन ।

सूर्य हत्केलाले छेकिने छैन !
जनताको चेतनाको दियो निभ्ने छैन !
जनताको सर्वाेच्चता हसिमजाक होइन !