काठमाडौं, भदौ २२ । बाढीका कारण चीनसँगका प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी बन्द भएपछि चीनसँगको व्यापार अहिले मुस्ताङको कोरला नाकामा केन्द्रित भएको छ।
गत भदौ १० गतेको बाढीले रसुवागढी नाकामा ठूलो क्षति पुर्याएको छ भने चीनले सडक मर्मत तथा सुरक्षाको कारण देखाउँदै तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको छ। दुवै नाका बन्द भएपछि हाल कोरला नाका मात्रै सञ्चालनमा रहेको छ।
व्यवसायीहरूले कोरला नाकाबाट सामान ढुवानी गर्दा लागत र समय दुवै बढ्ने बताएका छन्। तातोपानीबाट काठमाडौंसम्म सामान ल्याउँदा प्रतिकन्टेनर करिब ७५ हजार र रसुवागढीबाट करिब डेढ लाख रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेकोमा कोरलाबाट ल्याउँदा खर्च झन्डै चार लाख रुपैयाँसम्म पुग्ने व्यवसायीहरूको भनाइ छ।
कोरला नाकाबाट सामान ल्याउँदा करिब ४ सय किलोमिटरभन्दा बढी दूरी पार गर्नुपर्ने तथा जोमसोमभन्दा माथिको सडक कच्ची र कठिन भएकाले ढुवानीमा थप ढिलाइ र खर्च बढ्ने देखिएको छ।
चाडपर्व नजिकिँदै गर्दा आयात लागत बढेपछि बजारमा उपभोग्य वस्तुको मूल्यसमेत बढ्न सक्ने व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।
व्यवसायीहरूले तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन वा कोरलाबाट आयात हुने सामान सिधै चोभारस्थित सुक्खा बन्दरगाहसम्म ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
नेपाल–तिब्बत हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले रसुवागढी नाका तत्काल सञ्चालनमा आउने सम्भावना नरहेको भन्दै तातोपानी नाका पनि लामो समय बन्द रहे दसैँ, तिहारलगायत चाडपर्वमा सामानको अभाव र मूल्यवृद्धि हुन सक्ने बताउनुभएको छ।














प्रतिक्रिया दिनुहोस्