जनता टाइम्स

२५ माघ २०८२, आईतवार २०:२४

नेपाली कांग्रेसकाे निर्वाचन परिचालन र सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका परिमार्जनसहित पारित, केन्द्रीय अनुशासन समिति गठन


काठमाडौं, माघ २५। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आज सभापति गगनकुमार थापाको सभापतित्वमा सम्पन्न भएको छ।

बैठकमा महामन्त्री गुरुराज घिमिरेले निर्धारित प्रस्तावहरू पेश गर्नुभएको थियो। प्रस्तावमाथि छलफल पश्चात् बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२’ लाई परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी पार्टी संगठनलाई व्यवस्थित, प्रभावकारी र अनुशासित ढंगले परिचालन गर्ने उद्देश्यले ती निर्देशिका पारित गरिएको जनाइएको छ।

त्यसैगरी, बैठकले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ।

नवगठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ रहनुभएको छ भने सदस्यहरूमा केन्द्रीय सदस्य धना खतिवडा र सुवासकुमार पोखरेल चयन हुनुभएको छ।

बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी तथा प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा राख्नुभएको थियो।

बैठकका निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।