ओखलढुङ्गा, माघ २५। प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) ओखलढुङ्गाकी उम्मेदवार अस्मिता थापाले मतदातालाई पत्र पठाउँदै मतदानको अपिल सुरु गर्नुभएको छ। ‘ओखलढुङ्गे छोरीको चिठी’ शीर्षकको पत्रमार्फत उहाँले मतदातासँग भावनात्मक संवाद गर्नुभएको हो।
पत्रमा थापाले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण र युवा रोजगारीलाई आफ्नो प्राथमिक एजेन्डा बनाउँदै जिल्लाको समग्र विकासको खाका प्रस्तुत गर्नुभएको छ। ‘मलाई छोरीको रूपमा मत दिनुहोस्, हाम्रो जिल्लालाई नयाँ उचाइ दिनुहोस्’ भन्ने नारासहित उहाँले चिठीलाई व्यक्तिगत प्रतिबद्धता र साझा भविष्यको सङ्कल्पका रूपमा चित्रित गर्नुभएको छ।
उहाँले आफूलाई गाउँको दुःख–सुखसँग जोड्दै ‘शिक्षा र स्वास्थ्यमा लगानी, महिलाको सम्मान र युवाका लागि अवसर’लाई विकासको मूल आधारका रूपमा उल्लेख गर्नुभएको छ। राजनीतिक घोषणापत्रभन्दा परिवारभित्रको सन्देशझैँ लाग्ने यो चिठीले धेरै मतदाताको ध्यान खिचेको छ।
पत्र प्राप्त गरेकी एक महिला मतदाताले चिठी पढेर भावुक भएको प्रतिक्रिया दिँदै भन्नुभयो, “उहाँजस्तै सशक्त महिला नेतृत्व जिल्लालाई आवश्यक छ।”
एमालेकी महिला नेतृ उर्मिला खतिवडाले अस्मिता थापाको उम्मेदवारीलाई महिला एजेन्डासँग जोड्दै भन्नुभयो, “महिला मतदाताले अस्मितालाई चुन्नुभयो भने महिलाका मुद्दा संसद्मा मजबुत रूपमा पुग्छन्, यो चिठी हाम्रो अधिकारको आवाज हो।”
नेकपा (एमाले) का जिल्ला संयोजक हर्कबोल राईले थापाको उम्मेदवारी युवा पुस्तासँग जोडिएको बताउँदै भन्नुभयो, “युवा र जेन–जी पुस्ताको भावना बोकेकी अस्मिताले जिल्लालाई नयाँ अवसरतर्फ लैजान सक्छिन्, यो अपिल विशेष गरी युवाका लागि हो।”
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी लेखिएको यो चिठीले एमालेको जनसमर्थन थप मजबुत बनाउने अपेक्षा गरिएको छ। अस्मिता थापाले ओखलढुङ्गावासीले छोरीको अपिललाई आत्मीय रूपमा स्वीकार गर्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, “मलाई विश्वास छ उहाँहरूले मलाई छोरी, नातिनी र युवा पुस्ताको प्रतिनिधि आवाजका रूपमा चुन्नु हुनेछ।”














प्रतिक्रिया दिनुहोस्