भक्तपुर, माघ २५। नेकपा (एमाले) का सचिव तथा भक्तपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतले भक्तपुर जन्मस्थल मात्र नभई परिश्रम गरेर जीवन बसाल्ने सबै नागरिकको साझा घर भएको बताउनुभएको छ।
निर्वाचन प्रचारका क्रममा उहाँले विभिन्न जिल्लाबाट आएर भक्तपुरमा बसोबास गरिरहेका नागरिकलाई लक्षित गर्दै “हामी जहाँबाट आए पनि, सूर्यमा भोट हाल्छौँ, भविष्य अब भक्तपुरमै बनाउँछौँ” भन्ने धारणा व्यक्त गर्नुभयो।
बस्नेतले सुनसरी, धनुषा, झापा, सुर्खेत, बागलुङ, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत देशका विभिन्न कुनाबाट आएर भक्तपुरलाई कर्मथलो बनाएका नागरिकको योगदान उल्लेख गर्दै सबैको सपना समान रहेको बताउनुभयो।
उहाँका अनुसार सुरक्षित बसोबास, रोजगारीको अवसर, छोराछोरीको गुणस्तरीय शिक्षा, सहज सडक, खानेपानी र स्वास्थ्य सेवा अहिलेको साझा आवश्यकता हुन्। “यी सुविधा पर्यटकले होइन, काम देखाइसकेका सक्षम र अनुभवी नेतृत्वले दिन सक्छ,” उहाँले भन्नुभयो।
भक्तपुरमा परिश्रम गर्दै जीवन यापन गरिरहेका नागरिकले विकास रोकिँदा समस्या कसरी बढ्छ र काम गर्ने नेतृत्व हुँदा जीवन कति सहज हुन्छ भन्ने कुरा प्रत्यक्ष अनुभूति गरेको उहाँको भनाइ थियो।
बस्नेतले भक्तपुरको समग्र विकासका लागि निरन्तरता र स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै मतदातालाई सूर्य चिन्हमा मतदान गरी विकासको अभियानलाई बलियो बनाउन अपिल गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्