जनता टाइम्स

२६ माघ २०८२, सोमबार ०९:३१

मकवानपुर-१ मा एमालेको चुनावी अभियान तीव्र : विभिन्न स्थानमा सम्पर्क कार्यालय उद्घाटन, कार्यकर्ता भेला र प्रवेश कार्यक्रम


हेटौँडा, माघ २६ । नेकपा एमाले मकवानपुरले प्रतिनिधि सभा निर्वाचन लक्षित प्रचार अभियानलाई तीव्र बनाएको छ। क्षेत्र नम्बर १ अन्तर्गत बकैया गाउँपालिका–७ र धियालको दोभानमा सम्पर्क कार्यालय स्थापना तथा अगुवा कार्यकर्ता भेला आयोजना गर्दै पार्टीले चुनावी तयारीलाई थप सशक्त बनाएको हो।  सो कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी  नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर राना र एमाले नेता एवं पूर्व सांसद कृष्णप्रसाद दाहालले खादा र माला लगाएर स्वागत गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले एमाले जनविश्वासको पार्टी भएको उल्लेख गर्दै आगामी निर्वाचनमा विजय सुनिश्चित गर्न सबै नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए। बकैया क्षेत्रलाई विकास र समृद्धिको दिशामा अघि बढाउन स्पष्ट नीति, सक्षम नेतृत्व र स्थिर सरकार आवश्यक रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा जिल्ला तथा स्थानीय तहका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले उत्साहपूर्ण सहभागितासहित संगठनलाई थप सुदृढ बनाउँदै निर्वाचन तयारीलाई तीव्र पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबीच, हेटौँडा उपमहानगरपालिका–७ नम्बर वडा कमिटीको आयोजनामा पनि निर्वाचन लक्षित वडास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलामा प्रमुख अतिथि नेकपा एमालेका नेता तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो।

उहाँले एमाले नेतृत्वका सरकारहरूले मुलुकको पुनर्निर्माण, विकास र राष्ट्रियताको पक्षमा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै ती उपलब्धि जनतामाझ पुर्याउन कार्यकर्तालाई आग्रह गर्नुभयो। देशको स्वाधीनता, स्थायित्व र समृद्धिका लागि एमाले नै भरोसायोग्य शक्ति भएको उहाँको धारणा थियो। ‘केपी ओलीको नेतृत्वमा देशले आत्मनिर्भरता र समृद्धिको बाटो समातेको छ। त्यसको निरन्तरताका लागि एमालेको जित अपरिहार्य छ,’ पौडेलले भन्नुभयो।

उहाँले मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा जनताले रुचाएका र अनुभवी उम्मेदवार उठाइएको उल्लेख गर्नुभयो। क्षेत्र नम्बर १ मा राजनीतिक रूपमा अनुभवी र सादगी नेता रामेश्वर राना तथा क्षेत्र नम्बर २ मा युवा तथा लोकप्रिय नेता महेश बर्तौलालाई उम्मेदवार बनाइएकाले जिल्लाका दुवै क्षेत्रमा एमालेको जीत सुनिश्चित रहेको उहाँको दाबी थियो।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले पार्टी संगठनलाई अझ सुदृढ बनाउँदै जनतासँग प्रत्यक्ष सम्पर्क बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। देशको रक्षा र निर्माणका लागि एमाले नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो।

उहाँले भूकम्पपछि धरहरा, सिंहदरबारलगायतका राष्ट्रिय संरचनाको पुनर्निर्माण एमाले नेतृत्वकै सरकारले गरेको उल्लेख गर्दै भदौ २३–२४ मा भएको घटनालाई विदेशी शक्तिले मुलुक र एमाले पार्टीलाई कमजोर बनाउने षड्यन्त्रका रूपमा टिप्पणी गर्नुभयो। ती घटनापछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि एमाले नेतृत्वकै सरकारले गर्ने दाबी उहाँले गर्नुभयो।

एमाले प्रदेश कमिटी सचिवालय सदस्य रघुनाथ खुलालले विकास निर्माण, सुशासन र राष्ट्रियताको सवालमा एमालेको स्पष्ट अडान रहेको बताउनुभयो। आगामी निर्वाचनलाई चुनौती र अवसर दुवैका रूपमा लिँदै संगठनात्मक एकता र सक्रियतामार्फत विजयी हुने विश्वास व्यक्त गर्नुभयो।

भेलामा केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देल, जिल्ला उपाध्यक्ष हिदम लामा लगायतका नेताहरूले केपी शर्मा ओलीको नेतृत्वप्रति जनताको बढ्दो विश्वास, विकास निर्माणका उपलब्धि र सुशासनका प्रयासबारे चर्चा गर्दै संगठनात्मक अनुशासन र एकतासहित निर्वाचनमा होमिनुपर्नेमा जोड दिएका थिए।

भेलाले वडा तहमा निर्वाचन लक्षित टोल परिचालन समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ। कार्यक्रम पश्चात् निर्वाचन सम्पर्क कार्यालयको समेत उद्घाटन गरिएको आयोजकले जनाएको छ।