झापा, माघ २६ । एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा–५ यतिबेला राष्ट्रिय युवा संघ नेपालको विशेष प्राथमिकतामा परेको छ। केन्द्रीय नेतृत्व नै जिल्लामा केन्द्रित भएर टोलस्तरसम्म संगठन विस्तार र युवा परिचालनमा जुटेको छ।
संघका अध्यक्ष महाराज गुरुङसहितका केन्द्रीय नेताहरू झापा–५ का विभिन्न पालिकामा पुगेर टोल भेला आयोजना गरिरहनु भएकाे छ । उहाँहरूले वडा तहसम्म संगठन सुदृढ गर्दै युवा शक्तिलाई संगठित गर्ने अभियान अघि बढाउनु भएकाे छ।
ओलीविरुद्ध राजनीतिक घेराबन्दी बढेको विश्लेषण गर्दै युवा संघले झापा–५ का सबै पालिकामा वडा कमिटी गठन गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ। निष्क्रिय रहेका कार्यकर्तालाई पुनः सक्रिय बनाउने र पार्टीबाहिर रहेका युवालाई समेत आकर्षित गर्ने योजना अनुरूप टोली परिचालन गरिएको नेताहरूले बताउनु भएकाे छ ।

युवा संघले निर्वाचन अवधिमा ओलीको सुरक्षा तथा मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्न सहयोग पुर्याउने उद्देश्यले टोल–टोलमा स्वयंसेवक दस्ता निर्माण गर्न थालेको छ। स्थानीयस्तरमा सुरक्षा सचेतना र संगठनात्मक सुदृढीकरण दुवैलाई प्राथमिकतामा राखिएको बताइएको छ।
केन्द्रीय नेतृत्व केही समय झापा–५ मै केन्द्रित रहने र निर्वाचनसम्म युवा परिचालनलाई निरन्तरता दिने तयारी रहेको बताइएकाे छ। युवा संघको यो सक्रियताले झापा–५ मा चुनावी माहोल थप तातेको छ।













प्रतिक्रिया दिनुहोस्