दमक, माघ २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाइएका गोली चलाउने र मान्छे मार्ने आरोपहरू असत्य र कपोलकल्पित भएको बताउनुभएको छ। उहाँले यस्ता आरोप जनताले पत्याउन नसक्ने दाबी गर्नुभयाे ।
सोमबार झापाको गौरीगञ्ज गाउँपालिकाको देवीगञ्जमा स्थानीय मतदातासँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनमा आपराधिक तत्त्वहरू घुसेर तोडफोड र विध्वंस मच्चाएको उल्लेख गर्नुभयो। उहाँले तिनै तत्त्वहरूले परिस्थिति बिगारेपछि उल्टै आफूमाथि गोली चलाउन आदेश दिएको र मान्छे मारिएको आरोप लगाउने प्रयास गरेका बताउनुभयाे।
तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफूले कसैलाई पनि गोली चलाउन आदेश नदिएको दोहोर्याउँदै उहाँले संसद् भवन र सिंहदरबारमा आगजनी गर्ने प्रयास गरी प्रहरीलाई बल प्रयोग गर्न बाध्य बनाउने वातावरण सिर्जना गरिएको आरोप लगाउनुभयो। “राज्यका महत्वपूर्ण संरचना जलाउने प्रयास भएपछि सुरक्षाकर्मीलाई नियन्त्रणमा लिनुपर्ने परिस्थिति बनेको थियो,” उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि एमाले सरकारले सबैभन्दा बढी काम गरेको दाबी पनि गर्नुभयो। “गोबर र गुइँठा बाल्नुपर्ने अवस्थाबाट विद्युत् बाल्ने अवस्थामा पुग्नुपर्छ भन्ने हाम्रो अभियानलाई समेत केहीले तोडफोड गरेर अवरोध गर्न खोजे,” उहाँले आपत्ति जनाउँदै भन्नुभयो।
उहाँले नेपालमा ग्यास उत्खनन भइसकेको दाबी गर्दै अब त्यसको उचित उपयोग गरी घर–घरमा पाइपमार्फत ग्यास वितरण गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो। “ऊर्जा क्षेत्रमा आत्मनिर्भरता नै समृद्धिको आधार हो,” उहाँको भनाइ थियो।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवार रहनुभएका अध्यक्ष ओली पछिल्लो समय झापाका विभिन्न स्थानमा स्थानीयसँग प्रत्यक्ष भेटघाट र छलफलमा केन्द्रित हुनुभएको छ।
कार्यक्रममा स्थानीयवासीले दूरसञ्चार सेवाको समस्या समाधान गर्न माग गरेका छन्। मोबाइल नेटवर्क राम्रोसँग नटिप्ने गुनासो गर्दै स्थानीयले उक्त क्षेत्रमा टेलिफोन टावर निर्माण गरिदिन आग्रह गर्नुभयो। स्थानीयका अनुसार सञ्चार पहुँच कमजोर हुँदा दैनिक कामकाजमा समेत कठिनाइ भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्