जनता टाइम्स

२६ माघ २०८२, सोमबार २१:५९

केपी ओलीले बच्चा मार्ने आदेश दिएको भन्ने कुरा कल्पनासमेत गर्न सकिँदैन : माधव ढुंगेल


रामेछाप, माघ २६ ।  नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव ढुंगेलले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएकाे ‘बच्चा मार्ने आदेश दिएको’ आरोपलाई असत्य र कपोलकल्पित भएको बताउनुभएको छ। उहाँले त्यस्तो कुरा कल्पनासमेत गर्न नसकिने जिकिर गर्नुभएको छ।

रामेछापकाे देउरालीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै ढुंगेलले फागुन २१ गतेको निर्वाचन आकस्मिक र नसोचिएको परिस्थितिमा हुन पुगेको बताउनुभयो। भदौ २३ र २४ गते भएको विध्वंस र त्यसपछिको असंवैधानिक ढंगले गरिएको संसद् विघटनका कारण मुलुक चुनावमा जान बाध्य भएको उहाँको भनाइ थियो।

उहाँले उक्त निर्वाचनलाई ‘देश बनाउने र देश जलाउनेबीचको चुनाव’ को संज्ञा दिँदै देश निर्माणको पक्षमा उभिन मतदातालाई आग्रह गर्नुभयो। “यो समय स्पष्ट धार बनाउने समय हो,” उहाँले भन्नुभयो।

ढुंगेलले नेकपा एमाले कहिल्यै पनि युवा पुस्ताको माग र आवाजविरुद्ध नरहेको दाबी गर्नुभयो। ‘जेनजी’ आन्दोलनलाई हाइज्याक गरी अराजकता र वितण्डा मच्चाइएको उहाँको भनाइ छ। भदौ २३ र २४ गतेका घटनालाई उहाँले अत्यन्त दुःखद र क्षमायोग्य नभएको टिप्पणी गर्नुभयो।

अहिले केही आपराधिक तत्वहरूले एमाले अध्यक्ष ओलीमाथि बच्चा मारेको आरोप थोपर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले मतदातालाई भ्रममा नपर्न आग्रह गर्नुभयो। “हाम्रो पार्टी अध्यक्षको बच्चाप्रति यति धेरै स्नेह छ कि उहाँबाट बच्चालाई गोली चलाउने आदेश दिएको कुरा कल्पनासमेत गर्न सकिँदैन, केपी ओलीले बच्चा मार्ने आदेश दिनुभयो भनेर सोच्न पनि सकिन्छ?” उहाँले प्रश्न गर्नुभयो।

सरकार प्रमुखको हैसियतमा नैतिक जिम्मेवारी लिनुपर्ने अवस्था भए पनि ‘आदेश दिएको’ भन्ने प्रचार पूर्णतः गलत रहेको उहाँको भनाइ थियो। नैतिक जिम्मेवारी स्वीकार गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएको ढुंगेलले उल्लेख गर्नुभयो।

एमाले जस्तो शक्तिशाली राजनीतिक दललाई कमजोर पारेर नेपालमा चलखेल गर्न सकिने ठानेर विदेशी शक्तिहरू सुनियोजित रूपमा एमाले र केपी ओलीविरुद्ध लागिरहेको उहाँले दाबी गर्नुभयो। नेपाली जनताले सिंहदरबारजस्तो राष्ट्रिय धरोहर जलाउने काम गर्न नसक्ने उहाँले बताउनुभयो।

आफू प्रतिनिधिसभामा निर्वाचित भए रामेछापका जनताको मुद्दा सशक्त रूपमा संसद्मा उठाउने प्रतिबद्धता व्यक्त गर्दै ढुंगेलले जिल्लावासीको शिर नझुक्ने गरी काम गर्ने अठोट व्यक्त गर्नुभयो।