झापा, माघ २८। नेकपा (एमाले)का अध्यक्ष एवं झापा क्षेत्र नं. ५ का उम्मेदवार केपी शर्मा ओलीले आज झापाको पूर्वी गौरादह क्षेत्रका ११ स्थानमा आयोजना गरिएका कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ।
पार्टीको गौरादह नगर कमिटीका अनुसार बिहान ११ बजे चारालीबाट सुरु हुने भेटघाट तथा सम्बोधन कार्यक्रम अपराह्न ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुने छ।
नगर कमिटीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अध्यक्ष ओलीले बिहान ११ः४५ बजे पेट्रोलपम्प, १२ः३० बजे डिठा चौक र १ बजे हाँसखोरामा मतदातासँग भेटघाट गर्नुहुनेछ। त्यसैगरी १ः३० बजे मादलडाँडा हुँदै पुरानो ग्वालडुब्बा र २ बजे ठकठकेमा कार्यक्रम तय गरिएको छ।
यसैक्रममा २ः३० बजे बैराती, ३ बजे जुरोपानी र ३ः३० बजे ग्वालडुब्बामा मतदातासँग भेटघाट कार्यक्रम राखिएको छ। यस्तै ४ः१५ बजे जामबाडी र ४ः४५ बजे जयबहादुर अधिकारी टोलमा कार्यक्रम सम्पन्न हुने नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिनुभयो।
अध्यक्ष ओलीले टोल–टोलमा आयोजना गरिएका भेटघाट कार्यक्रममा मतदाताका गुनासा तथा सुझाव सुन्ने र ती विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ। उहाँसँगको प्रत्यक्ष संवादमा मतदाताले स्थानीय क्षेत्रमा देखिएका भौतिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवासम्बन्धी समस्यालाई प्राथमिकताका साथ उठाउने गरेका छन्।
यसअघि हिजो अध्यक्ष ओलीले पश्चिम गौरादहको बालबथानदेखि स्कूलचौनसम्मका १० स्थानमा मतदातासँग भेटघाट गर्नुभएको थियो।













प्रतिक्रिया दिनुहोस्