जनता टाइम्स

२८ माघ २०८२, बुधबार १०:१६

लोकतन्त्र सुदृढीकरण र युवामुखी विकासमा कांग्रेस प्रतिबद्ध : कांग्रेस सभापति गगन थापा


सिरहा, माघ २८। नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले लोकतन्त्रको सुदृढीकरण, सुशासन र युवामुखी विकासका एजेन्डालाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सिरहाको गोलबजारमा आयोजित कार्यक्रममा उहाँले देशलाई समृद्ध बनाउने अभियान नै कांग्रेसको मूल उद्देश्य रहेको उल्लेख गर्दै सो अभियानमा सबैलाई एकजुट हुन आह्वान गर्नुभयो। मुलुकको समग्र विकास र आर्थिक रूपान्तरणका लागि कांग्रेसले स्पष्ट कार्यदिशा तय गरेको उहाँले बताउनुभयो।

सभापति थापाले नेपाली कांग्रेस अब नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टी जनताको अधिकार, पारदर्शिता र विकासका पक्षमा सधैँ दृढतापूर्वक उभिने धारणा राख्नुभयो। उहाँले परिवर्तनको नेतृत्व गर्न कांग्रेस सक्षम रहेको जिकिर गर्नुभयो।

गोलबजार आगमनका क्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूले सभापति थापाको भव्य स्वागत गरेका थिए। जिल्लाभरबाट आएका नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा देखिएको उत्साहजनक सहभागिताले आफू उत्साहित भएको सभापति थापाले बताउनुभयो।