रामेछाप, माघ २८। मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको पोष्टमार्टम कार्यमा ढिलाइ भएको छ। दुर्घटनामा मृत्यु भएकाहरूको शव बुधबार बिहानसम्म पनि परीक्षण प्रक्रियामा प्रवेश गर्न नसकेको जनाइएको छ।
बस सञ्चालक पूर्व अरनिको यातायात प्रालिका आधिकारिक प्रतिनिधि सम्पर्कमा नआएपछि पीडित परिवारका मागबारे सहमति जुट्न नसक्दा पोष्टमार्टम प्रक्रिया अघि बढ्न नसकेको हो। मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले कम्पनीका अधिकारीहरू सम्पर्कविहीन रहेकाले थप प्रक्रिया अघि बढाउन कठिनाइ भएको बताउनुभयो। उहाँका अनुसार कम्पनीका प्रतिनिधि उपस्थित भई आफ्नो धारणा स्पष्ट पारिदिएपछि सहमतिको आधारमा प्रक्रिया अगाडि बढाउन सहज हुने थियो।
मंगलबार राति अबेरसम्म स्थानीय प्रशासन र पीडित परिवारबीच छलफल भए पनि कम्पनीका प्रतिनिधि अनुपस्थित रहँदा निष्कर्षमा पुग्न नसकिएको जनाइएको छ। बुधबार बिहानदेखि पुनः विभिन्न तहमा वार्ता जारी रहे पनि सहमति जुट्न सकेको छैन।
कम्पनीका अधिकारीहरू उपस्थित नहुँदा मृतक तथा घाइतेका आफन्तहरू आक्रोशित बन्दै गएका छन्। मृतकका परिवारजन मन्थली बजार क्षेत्रमा प्रतीक्षारत अवस्थामा रहेका छन्।
दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ८ जनाको शव मन्थली नगर अस्पतालको पोष्टमार्टम गृहमा र ४ जनाको शव रामेछाप अस्पतालमा राखिएको छ।
काठमाडौंबाट रामेछापको मन्थली हुँदै ओखलढुङ्गाको गाम्नाङतर्फ जाँदै गरेको पूर्वी अरनिको यातायात प्रालिको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार बिहान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको धुलिखेल र काठमाडौंमा उपचार भइरहेको छ। सामान्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्