रामेछाप, माघ २९। मंगलबार मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा भएको बस दुर्घटनापछि अवस्था अझै सामान्य बन्न सकेको छैन। मृतक तथा घाइतेका आफन्तहरूले न्याय र क्षतिपूर्तिको माग गर्दै बुधबार मन्थलीमा सवारी साधन आवतजावत पूर्ण रूपमा बन्द गराएका छन्।
आन्दोलनका कारण मन्थली बजार क्षेत्र तथा आसपासका सडकखण्डमा यातायात सेवा ठप्प बनेको छ। बिहानैदेखि प्रदर्शनमा उत्रिएका आफन्त र स्थानीयवासीले दुर्घटनाका दोषीमाथि कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति सुनिश्चित गर्न माग गरेका छन्। यातायात अवरुद्ध हुँदा दैनिक जनजीवन प्रभावित भएको छ।
मंगलबार काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाको गाम्नाङतर्फ जाँदै गरेको पूर्वी अरनिको यातायात प्रालिको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको धुलिखेल र काठमाडौंका अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ८ जनाको शव मन्थली नगर अस्पतालको पोष्टमार्टम गृहमा र ४ जनाको शव रामेछाप अस्पतालमा राखिएको छ। तर बस सञ्चालक कम्पनीका आधिकारिक प्रतिनिधि सम्पर्कमा नआएकाले पीडित परिवारका मागबारे सहमति जुट्न नसक्दा पोष्टमार्टम प्रक्रिया रोकिएको छ।
स्थानीय प्रशासनले मंगलबार रातिदेखि पीडित पक्षसँग निरन्तर छलफल गर्दै आएको भए पनि कम्पनीका अधिकारी अनुपस्थित रहँदा सहमति हुन नसकेको जनाइएको छ। आफन्तहरूले कम्पनीका जिम्मेवार प्रतिनिधि उपस्थित भएर माग सम्बाेधन नभएसम्म शव परीक्षण प्रक्रिया अघि बढ्न नदिने अडान लिएका छन्।
प्रशासनले वार्तामार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको जनाएको छ। यद्यपि पीडित पक्षको आक्रोश चुलिँदै जाँदा मन्थली क्षेत्रको अवस्था तनावपूर्ण बन्दै गएकाे छ।













प्रतिक्रिया दिनुहोस्