जनता टाइम्स

२८ माघ २०८२, बुधबार १४:१६

सुप्रिम सहकारीका पीडितद्वारा बुटवलमा रास्वपा उम्मेदवारको घरदैलो अभियानमा विरोध


बुटवल, माघ २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मत माग्न निस्कँदा सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरूले विरोध प्रदर्शन गरेका छन्।

रुपन्देही निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बुटवल उपमहानगरपालिका–११, होराइजन चोकमा सहकारी पीडितहरूले रास्वपाका उम्मेदवार शुलभ खरेल मत माग्न पुग्दा प्रदर्शन गरेका हुन्। हातमा ‘तिम्रो नेता खोई ? लिएर आऊ’, ‘जेनजीका माग कसले पूरा गर्छ ?’, ‘सिंहदरबार किन जलाएको ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर पीडितहरूले नाराबाजी गरेका थिए।

घरदैलो अभियानमा रहनुभएका उम्मेदवार खरेलले पीडितहरूको भीड देखेपछि नजिकैको एल डोराडो होटलभित्र प्रवेश गर्नुभएको थियो।

पीडितहरूले ‘हामीले दुःख गरेर नखाई–नखाई जम्मा गरेको पैसा कहिले फिर्ता हुन्छ ?’ भन्दै प्रश्न उठाएका छन्। सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको बताइएको छ। अधिकांश बचतकर्ता न्यून आय वर्गका रहेको र उनीहरूले तीन वर्षदेखि बचत रकम फिर्ताका लागि संघर्ष गर्दै आएको जनाइएको छ।

सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको छ। यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिइएको तथ्य बाहिर आएको छ।

गोर्खा मिडिया नेटवर्कले २०७७ साल फागुन ११ गते ग्यालेक्सी टेलिभिजन सञ्चालनमा ल्याएको थियो। कम्पनीमा सुरुवाती चरणमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य रहेका थिए। त्यतिबेला उहाँहरूको समान २ लाख ५० हजार कित्ता शेयर रहेको थियो।

सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न रहेको अभियोग लाग्नुभएका रास्वपा अध्यक्ष रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराध मुद्दामा रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा हुनुभएको छ। उहाँले सोमबार मात्र तारेख लिएको अदालतले जनाएको छ।