जनता टाइम्स

२९ माघ २०८२, बिहीबार ०८:३६

तामाकोसी बस दुर्घटनामा ८ बुँदे सहमति, रोकिएको पोस्टमार्टम प्रक्रिया अघि बढ्ने


रामेछाप, माघ २९ ।  मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनापछि उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा स्थानीय प्रशासन र पीडित परिवारबीच ८ बुँदे सहमति भएको छ। सहमति भएसँगै रोकिएको पोस्टमार्टम प्रक्रिया अघि बढ्ने भएको छ।

दुर्घटनामा १२ जनाको मृत्यु भएको थियाे भने ३ जना अझै बेपत्ता छन्। ८ जना घाइते मध्ये ७ काे विभिन्न अस्पतालमा उपचार भइरहेको छ। चालकलाई भने सामान्य उपचार पछि नियन्त्रणमा लिइएकाे छ । क्षतिपूर्ति, उपचार र कानुनी कारबाहीका विषयमा स्पष्ट प्रतिबद्धता माग गर्दै पीडित पक्षले पोस्टमार्टम रोक्ने अडान लिएपछि शव परीक्षण हुन सकेको थिएन। प्रशासन र यातायात कम्पनीबीच लिखित सहमति भएपछि प्रक्रिया अघि बढाउने निर्णय भएको हो।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा जिल्ला सुरक्षा समिति, नेपाल अरनिको यातायात सेवा प्रा.लि., राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा पीडित परिवारका सदस्य सहभागी थिए।

सहमति अनुसार दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। घाइतेको उपचारमा कुनै कमी नहुने गरी नेपाल अरनिको यातायात सेवा प्रा.लि.ले तत्काल आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।

मृतकका परिवारलाई प्रचलित कानुनबमोजिम पाउनुपर्ने क्षतिपूर्ति तत्काल उपलब्ध गराइनेछ। थप क्षतिपूर्तिका विषयमा जिल्ला सुरक्षा समितिको सहजीकरणमा पीडित पक्ष तथा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसहित नेपाल अरनिको यातायात सेवा प्रा.लि.सँग वार्ता गरिने सहमति भएको छ।

अस्पतालमा रहेका मृतकको शव परीक्षण गरी आफन्तको सहमतिमा दाहसंस्कारका लागि शव हस्तान्तरण गरिनेछ। दुर्घटनामा संलग्न सवारी चालकलाई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ।

बेपत्ता ३ जनाको खोजीकार्य जारी राखिनेछ र उनीहरुलाई मृतकसरह मानी नियमानुसार क्षतिपूर्ति उपलब्ध गराइनेछ। पीडित पक्षले दुर्घटना चालकको लापरवाहीका कारण घटना भएको दाबी गर्दै थप सुविधा माग गरेकामा सो विषयमा सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्णय लिन पहल गर्ने सहमति भएको छ।

पीडित पक्षबाट प्राप्त मागपत्र कार्यान्वयन तथा सहजीकरणका लागि सम्बन्धित यातायात सेवा प्रा.लि., गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने भएको छ। सहमतिसँगै हाल सञ्चालनमा रहेका विरोधका कार्यक्रम स्थगित गरिने उल्लेख गरिएको छ।

यसैबीच, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सवारी सञ्चालनमा कडाइ गर्ने निर्णयसमेत गरिएको छ। यात्रुको जिउधन जोखिममा पार्ने गरी सवारी चलाएको पाइएमा दर्ता खारेज गर्न सिफारिस गरिनेछ। जिल्ला भित्रिने तथा सञ्चालन हुने सवारी साधनमा सीमा नाका र चेकपोइन्टमा अनिवार्य जाँच तथा यात्रु विवरण अभिलेख राख्ने व्यवस्था मिलाइने प्रशासनले जनाएको छ।

दुर्घटनामा परेको बस काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको गाम्नाङतर्फ जाँदै गरेको नेपाल अरनिको यातायात सेवा प्रा.लि.को प्रदेश ०३–०१–००५ नम्बरको यात्रुवाहक बस रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।