रामेछाप, माघ २९ । तामाकोशी नदीमा बस खसेर १२ जनाको ज्यान गएको ३ दिन बितिसक्दा पनि तीन जना यात्रु अझै बेपत्ता छन्। अन्य मृतकका परिवारले सास नभए पनि लास देख्न पाए । तर यी तीन परिवार भने आशा र त्रासबीच नदी किनारमै खबरको प्रतीक्षामा छन्। बेपत्ता आफन्तको अवस्था नखुलेपछि उनीहरुको पीडा झन् गहिरिँदै गएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापले फोटोसहित हुलिया सार्वजनिक गर्दै खोजतलास जारी राखेको जनाएको छ। सुरक्षाकर्मी, गोताखोर र स्थानीयवासीको सहयोगमा नदी क्षेत्रमा निरन्तर खोजी भइरहेको भए पनि हालसम्म बेपत्ता व्यक्तिहरुको अवस्था खुल्न सकेको छैन। प्रहरीले खोजी कार्यमा सहयोग गर्न सर्वसाधारणसँग अपिल गरेको छ।
बेपत्ता हुनेहरुमा मन्थली नगरपालिका–२, पिल्ले बस्ने मृतक तारा तामाङका करिब ९ वर्षीय छोरा क्रिशन तामाङ, लिखु तामाकोशी गाउँपालिका–७, तिल्पुङ बस्ने रमिता तामाङका ८ वर्षीय छोरा रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वर बस्ने २४ वर्षीय विशाल सुनुवार रहेका छन्। दुई बालक र एक युवक अझै सम्पर्कविहीन भएपछि परिवारजन मानसिक रुपमा थप आघातमा परेका छन्।
बस खसेकाे ठाउँमा नदी गहिराे भएकाेले खोजी कार्य कठिन भइरहेको छ। घटनापछि निरन्तर खोजी जारी रहे पनि कुनै ठोस उपलब्धि हात नलाग्दा परिवारमा निराशा बढ्दै गएको छ। ‘कम्तीमा अवस्था त थाहा होस्,’ भन्ने अपेक्षा आफन्तले व्यक्त गरिरहेका छन्।
उक्त दुर्घटना मंगलबार बिहान करिब १०:४० बजे भएको थियो। काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुबाहक बस मन्थली नगरपालिका–६, बेनीघाटस्थित सडकबाट तामाकोशी नदीमा खसेको थियो। दुर्घटनापछि चालकसहित २० जनालाई उद्धार गरी मन्थली अस्पताल पठाइएकोमा अस्पतालले १२ जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ । उनीहरुकाे घटनास्थलमा नै मृत्यु भएकाे थियाे। अन्य घाइते मध्ये ७ जनाकाे उपचार भइरहेको छ। सामान्य घाइते चालक प्रहरी नियन्त्रणमा छन् ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। तर बेपत्ता तीन जनाको अवस्था अझै अज्ञात रहँदा उनीहरुको परिवार भने असह्य प्रतीक्षामा दिन काट्न बाध्य छन्।














प्रतिक्रिया दिनुहोस्