काठमाडौं, माघ २९ । आइसिसी टी–२० विश्वकपअन्तर्गत नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ।
समूह ‘सी’ मा सुपर–८ पुग्ने सम्भावना कायम राख्न दुवै टोलीका लागि आजको खेल निर्णायक मानिएको छ। दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन्।
पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको थियो। प्रतिस्पर्धात्मक खेल खेले पनि अन्तिम ओभरमा लक्ष्य भेट्टाउन नसक्दा नेपाल हार व्यहोर्न बाध्य भएको थियो।
इटाली भने आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो।
टी–२० अन्तर्राष्ट्रिय फर्म्याटमा नेपाल र इटालीबीच पहिलोपटक भेट हुन लागेको हो। यसअघि ५० ओभरको खेलमा तीन पटक प्रतिस्पर्धा हुँदा नेपालले सबै खेल जितेको थियो। दुई टोलीबीचको पछिल्लो भेट सन् २०१३ मा भएको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख प्रमुख रन–स्रोतका रूपमा हेरिएका छन्। कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र शेर मल्ल टोलीका मुख्य खेलाडी हुन्। इंग्ल्यान्डविरुद्धको खेलमा देखिएको डेथ ओभर बलिङको कमजोरी सुधार गर्नु आजको खेलमा नेपालको मुख्य चुनौती हुनेछ।
इटाली पहिलोपटक टी–२० विश्वकप खेलिरहेको टोली हो। प्रारम्भिक खेलमा पराजित भए पनि टोलीमा युवा खेलाडीहरूको ऊर्जा देखिएको विश्लेषण गरिएको छ।
आजको खेलमा जित निकाल्न सके नेपालले सुपर–८ यात्राको ढोका खुला राख्नेछ, हारेमा भने समीकरण जटिल बन्नेछ।













प्रतिक्रिया दिनुहोस्